काठमाडौं, माघ १०। आयातमा कडाइ गर्दै ब्यापार घाटामा सरकारले कडाइ गर्न खोजेपनि यस्तो घाटा गत वर्षको तुलनामा ४६ प्रतिशतले वृद्धि भएको छ । चाँदी आयातमा कडाइ गर्न खोजेपनि यही बिचमा चाँदी आयात ६ सय १७ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको पुष मसान्तसम्म २ अर्ब बराबरको चाँदी आयात भएको थियो । जुन यो वर्षको ६ महिनामा ६ सय १७ प्रतिशतले वृद्धि भएर १४ अर्ब ९९ करोड कायम भएको छ ।
त्यस्तै, डिजलको आयात ८६ प्रतिशत, कच्चा पाम तेल ९ सय २१ र भटमासको तेलको आयात १ सय ६ प्रतिशतले बढेको छ । आयात बढ्दै जाँदा यसले विदेशी मुद्रा सञ्चिती घटाउन थालेपछि सरकारले केही बस्तुको आयातमा कडाइ गर्ने प्रयास गरेको छ । चाँदी आयात गर्नको लागि विदेशी मुद्राको सिमा घटाउने र अन्य केही बस्तुको आयात गर्दा नेपालका बैंकमा शतप्रतिशत रकम बैंकमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।
साथै चाँदीको भन्सार बढाएर सरकारले प्रति १० ग्राम एक सय सात रुपैयाँले बढाएको थियो । तर यसको आयातमा अहिले नै उल्लेख्य मात्रामा कमी भने आएको देखिदैन । डिजल, भटमासको तेल र कच्चा पाम तेलसँगै मोबाइल र सुनको आयातका लागि बाहिरिने रकम भने बढ्दै गएको छ ।
उच्च मात्रामा आयात भएका ५ मुख्य बस्तु
बस्तु बढेको रकम बढेको रकम प्रतिशतमा
डिजल २८ अर्ब ८६
कच्चा पाम तेल २४ अर्ब ९२१
भटमासको तेल १८ अर्ब १०६
चाँदी २ अर्ब ६१७
सुन ११ अर्ब ९०
मुलुकमा ९ खर्ब ९९ अर्ब आयात हुँदा निर्यात भने जम्मा १ खर्ब १८ अर्ब भएकाले यो वर्षको ६ महिनामै मुलुकले ८ खर्ब ८० अर्ब बराबरको ब्यापार घाटा भोगेको छ । निर्यात ९५ प्रतिशतले बढेको छ । कुल १ खर्ब १८ अर्बको निर्यात हुँदा ६८ अर्बको त विदेशबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी बाहिर पठाइने पाल्म तथा भटमासको तेलले ओगटेको छ । कुल निर्यातमा यसरी आयातित कच्चा तेल प्रशोधन गरी निर्यात गर्ने तेलहरुले ८० प्रतिशत हिस्सा ओगटेका छन् । नेपालकै रैथाने बस्तुहरू अलैँची, चिया, जडिबुटीको निर्यात भने उल्लेख्य मात्रामा घटेको छ ।