काठमाडौं, वैशाख २८ । चीनबाट चार सय वटा अक्सिजन सिलिन्डर काठमाडौं ल्याइएको छ । चार सय अक्सिजन सिलिन्डर बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी त्रिभुवन विमानस्थलमा दिउसो करिब ३ बजे अवतरण गरेको छ ।
नेपाल वायुसेवा निगमका अनुसार ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर जहाजमार्फत ल्याइएको हो। चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने बताएको थियो । जसअनुसार पहिलो लटमा ४ सय सिलिन्डर ल्याइएको हो।
यस्तै सरकारले करिब २ हजार सिलिन्डर हवाइमार्गबाट र बाँकी स्थलमार्गबाट ल्याउने जनाएको छ । विमानस्थलका अनुसार सोमबार राती चीनको बेइजिङमा गएको वाइडबडी २ः३५ मा त्रिभुवन विमानस्थल अवतरण गर्नुपर्ने भए पनि ढिलाइ भइरहेको छ ।
मुलुकमा पछिल्लो समय कोरोना संक्रमण दर उच्च भए सँगै अक्सिजन अभाव हुन पुगेको थियो । कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले सरकारले चीन लगायत विभिन्न मुलुकबाट अक्सिजन सिलिन्डिर ल्याउन लागेको हो ।