काठमाडौं, माघ १०। राष्ट्रिय वाणिज्य बैंकले आज सोमबार माघ १० गते सूचना जारी गर्दै कोभिड-१९ को कारण विभिन्न प्रदेशका विभिन्न शाखाहरु बन्द रहने जानकारी गरायो ।
उक्त सूचनामा अति आवश्यक भएमा नजिकको शाखा कार्यालयबाट सेवा लिन सक्नुहुनेछ भन्ने कुरा पनि जानकारी गराइएको थियो । बागमती प्रदेशमा भरतपुर, कोटेश्वर र बलम्बु शाखा बन्द रहने कुरा सूचनामा उल्लेख गरिएको थियो । तर राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखा बन्द गराउने विषयको कुनै जानकारी भने सूचनामा उल्लेख थिएन । जसका कारण टाढा टाढाबाट आएका सेवाग्राहीहरु उक्त शाखामा पुगेर फर्किन बाध्य देखिए ।
राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखामा पुगेर फर्किनु भएका एकजना सेवाग्राही भन्नुहुन्छ, ‘बैंक खुल्लै छ भनेर आए तर यहाँ आएपछि बैंकका सेक्युरिटी गार्डले भन्नुभयो 'आज बैंक बन्द छ, आज एकदिन मात्र बन्द गरिएको हो, भोलिदेखि खुल्छ । भोलि आउनुस्’ । टाढाबाट आउनुपर्ने, फेरी भोलि पनि धाइरहनु पर्ने भयो। उहाँले दुखेसो गर्नुभयो। बैंकले सही ढंगले पहिल्यै सूचना दिएको भए सेवाग्राहीहरुले यसरी दुःख पाउने थिएनन् कि !