Kath Khabar
ज्वरोको बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

भक्तपुर, माघ १० । भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभयो । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन ग¥यौँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।” उहाँले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिनुभयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोलको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार ५०० सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।”
    
ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उहाँले भक्तपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । त्यसमध्येमा २५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उहाँले ज्वरोको बिरामी भने निकै बढेको बताउनुभयो ।
    
कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जादा अस्पतालको शय्या भरिन थालेको छ। अस्पतालमा रहेको ६ शय्याको आयूसियू कोरोनाका विरामीले भरिएको र आइसियू नचाहिने कारोनाका बिरामीलको चाप पनि बढेको छ । मेसु डा गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा आइतबार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको छ भन्नुभयो ।

(रासस)

 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update