काठमाडौं, माघ ११ । राष्ट्र बैंकले आज ८ अर्ब ६० करोडको ट्रेजरी बिल र १० अर्बको विकास ऋणपत्र जारी गर्न थालेको छ । सरकारलाई रकम जोहो गर्नका लागि राष्ट्र बैंकले रकम उठाउन थालेको छ । यसले बजारमा झनै तरलता अभाव निम्त्याउने जोखिम बढेको छ ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार अहिले बैक तथा वित्तीय क्षेत्रमा ९ अर्बको हाराहारीमा मात्रै लगानीयोग्य रकम छ। बैंकिङ क्षेत्रले यसरी लगानीयोग्य रकमको अभाव झेलिरहेका बेलामा तिनै बैंक तथा वित्त संस्थाबाट सरकारले पनि आन्तरिक ऋण उठाउने गरी प्रक्रिया अघि बढाएको छ ।
सरकारले यो आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकामा गत पुषसम्म ६ अर्ब उठाएको छ । यसबाहेक अबको चैत सम्ममा सरकारले थप १ खर्ब ऋण उठाउन लागेको छ । जसका लागि सोमबार १० अर्ब बराबरको विकास ऋणपत्र २०८० जारी गर्ने सूचना जारी गरेको छ । राष्ट्र बैंक भने तरलतामा अभाव नपर्ने गरि ऋणपत्र जारी गर्ने दाबी गर्छ ।
अभावका बेलामा राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा मौद्रिक उपाय मार्फत तरलता उपलब्ध गराउने बताएपनि ति प्रभावकारी भने हुन सकेका छैनन् । सरकारले खर्च गर्न नसकेपनि भोलिका दिनमा आइपर्ने खर्च टार्नका लागि यस्तो रकम जोहो गरेको हो । ढुकुटीमा भएको रकम खर्च नगर्ने र बजारमा भएको रकम पनि थप उठाउने हो भने लगानी बिस्तारमा झनै बाधा उत्पन्न हुन सक्नेछ ।
बजारमा ऋण उठाउनै लाग्दा सरकारले विकास खर्चमा पनि तिव्रता दिने हो भने चाहि यसरी उठाएको ऋणले बजारमा ठूलो प्रभाव पार्ने छैन । तर, ऋण उठाएर ढुकुटीमा थुपारियो भने त्यसले लगानी बिस्तारमा प्रभाव मात्रै पार्ने छैन, आर्थिक वृद्धिमा पनि असर गर्नेछ, जसका बारेमा सरकार समयमै सचेत हुन जरुरी छ ।