काठमाडौं, माघ १२। देशका २६ वटा वाणिज्य बैंकहरूले ६ महिनाको अवधिमा ३३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । तर उनीहरूले आफ्ना शेयरधनीलाई बाड्ने रकम अर्थात परिचरणयोग्य मुनाफा भने उत्साहजनक रुपमा बढाउन सकेका छैनन् ।
देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरूमध्ये अहिलेसम्म २६ वटा बैंकहरूले गत पुषसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा २० वटा बैंकहरूको नाफा वृद्धि भएको देखिएको छ । सबैभन्दा नाफा ग्लोबल आइएमई बैंकले कमाएको देखिएको छ। गत पुषसम्ममा २ अर्ब ६६ करोड नाफा कमाएको भएपनि गत वर्षको तुलनामा सबैभन्दा बढि नाफा बढाउनेमा भने सिभिल बैंक रहेको देखिन्छ ।
६ वटा बैंकहरूको भने गत वर्षको पुषको तुलनामा नाफामा गिरावट आएको छ । निक्षेपको ब्याजमा भएको लागतमा वृद्धि, खराब कर्जामा भएको वृद्धिका कारण नाफाबाट प्रावधान गरेर राख्नु पर्ने रकम बढेकाले अपेक्षाकृत रुपमा नाफा भने बढाउन नसकिएको देखिन्छ । नाफा उच्च मात्रामा बढेका बैंकहरू लगानीका हिसाबले उचित हुन्छन् । तर, के कसरी उनीहरूले यस्तो नाफामा वृद्धि गरेका हुन त भनेर हेर्न भने छुटाउनु हुँदैन । नाफाको रकम र वृद्धि हेरेर लगानी गर्नु उचित हुन्छ। साथै लामो समयका लागि कुल नाफा हेरे पनि छोटो समयका लागि भने उसको वितरण योग्य मुनाफामा बढि केन्द्रित हुन उचित हुन्छ ।
नाफा बढाएका बैंकहरु
गत वर्ष पुष मसान्तसम्म ३२ खर्ब २३ अर्ब लगानी गरेका बैंकहरूले यो वर्षको पुष मसान्तसम्ममा ९ खर्बले वृद्धि गरेर ४१ खर्ब ४२ अर्ब पुराएका छन् । अर्थात उनीहरूको लगानी गत वर्षको तुलना २८ दशमलव पाँच प्रतिशतले बढेको छ ।
तर, सेयर लगानीकर्तालाई बाँड्नै लाभांशका लागि छुट्याउने रकम अर्थात वितरण योग्य मुनाफामा भने ८ दशमलव आठ सात प्रतिशत मात्रै बृद्धि भएको छ । यो वृद्धि उत्साहजनक वृद्धि होइन । त्यस्तै उनीहरूको निक्षेपको ब्याजमा लागत शून्य दशमलव नौ छ प्रतिशतले बढेको छ । त्यस्तै खराब कर्जा शून्य दशमलव पाँच तीन प्रतिशतले बढेको देखिएको छ । त्यसैगरी सम्पत्तिमा प्रतिफल १ दशमलव दुई प्रतिशतले गिरावट आएको छ ।
बैंकका मुख्य सूचक नियाल्दा बैंकहरूको अवस्था सन्तोषजनक नै रहेको देखिन्छ । हुन त महामारीका कारण सबै क्षेत्रको अवस्था बिग्रीएका बेलामा बैंकहरूको यस्तो प्रगति आशलाग्दो नै देखिन्छ ।