काठमाडौं, वैशाख २९ । प्ले अफमा काठमाडौं रेजर्सलाई दुइ एक गोलले पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । एक शुन्य गोलले पछि परेको अवस्थामा शानदार कमब्याक गरि धनगढीले नतिजा आफ्नो पक्षमा बनाएको थियो ।
दशरथ रंगशालामा खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा रोकिएको थियो । काठमाण्डौँ दुइ वटा गोलका लागि खतरनाक मुभ बनाउँदा धनगढीले भने कुनै मौका बनाउन सकेको थिएन । दोस्रो हाफमा भने खेलले गति लिएको थियो । आक्रमक देखिएको काठमाण्डौँले निर्धारित समय सकिनमात्र १५ मिनेट अघि गोलको डेडलक तोड्नु भएको थियो ।
७५ आँै मिनेटमा मेसोके ओलुमोउको क्रसमा तेज तामाङले गोल गरि काठमाण्डौँलाई अग्रता दिलाउनु भएको थियो । तर त्यसको तीन मिनेटमै धनगढीले खेललाई बराबरीमा ल्यायो। पुजन उपरकोटीको सुन्दर ब्याक भलि गोलमा खेल बराबरीमा आएको थियो । निर्धारित ९० मिनेटको समय एक एक गोलको बराबरीमा रोकिए पछि खेलमा ३० मिनेटको अतिरिक्त समय थपिएको थियो ।
खेलको एक सय ८ औँ मिनेटमा रमेश दंगालको हेडर पासमा उहाँले विशाल राइले गोल गरि धनगढीलाई दुइ एक गोलले अघि राख्नु भयो । अतिरिक्त समयमा वैकल्पिक खेलाडीका रुपम रमेश मैदान प्रवेश गर्नुभएको थियो । एक सय १४ औँ मिनेटमा ओलुमोउको फ्रिकिक प्रहार किरण चेम्जोङबाट रिबाउण्ड भएको थियो । सो बलमा अञ्जन राई गोल गर्न चुक्नुभयो ।
यसपछि काठमाण्डौँ खेलमा फर्कन सकेन र धनगढीले फाइनलमा स्थान सुरक्षित गर्यो । यद्यपी काठमाण्डौँको फाइनलमा पुग्ने सम्भावना कायमै छ । भोली हुने दोस्रो प्ले अफको बिजेतालाई हराएमा काठमाण्डौँ फाइनल प्रवेश गर्ने छ ।