
काठमाडौं, माघ १३। नेप्सेमा सामान्य अंकले सुधार देखिएको छ। अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार तीन दशमलव ३३ अंकले बढेर २७ सय ७९ दशमलव ९८ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ३८ अंकले बढेर पाँच सय १८ दशमलव ७२ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २४ वटा कम्पनीहरुको ५० हजार नौ सय ६५ पटकको कारोबारमा ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कारोबार रकम तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार छ सय ८४ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र सामूहिक लगानी कोष सहितका छ वटा समुहरुको सूचक घटेकाछन् भने जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका सात वटा समुहहरूको सूचक भने बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभुमी नेपाल हाइड्रो पावर लिमिटेड, वन लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य बढेकाछन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी, स्टान्डर्ड चार्टड बैंक आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम आदि परेकाछन् ।