काठमाडौं, माघ १४ । कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । निजी गाडीको हकमा भने जोर–बिजोर प्रणाली लागू नै गर्न सिफारिस गरिएको छ । निजी सवारी साधन कार, मोटरसाइकल, स्कुटरलगायत सार्वजनिक ट्याक्सीमा जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।
बैठकले शैक्षिक संस्थाहरू माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
सबै प्रकारका व्यवसायमा हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्रै काममा खटाउनुपर्नेछ । होटल रेष्टुरेण्टको हकमा स्वास्थ्यका सबै मापदण्ड पालना गरी/गराई कूल क्षमताको आधाभन्दा बढी नहुने गरी र एक पटकमा २० जना नबढ्ने गरी कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्नेछ । यसरी प्रवेश गर्दा खोपको मात्रा पूरा गरेका मानिस हुनुपर्नेछ ।
होटलमा चेक इन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टाभित्र आफ्नो बास बस्ने हरेक ग्राहकको होटलले नै एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु आदेशमा भनिएको छ । यसअघि जारी गरिएका अन्य आदेशलाई भने निरन्तरता दिइएको छ ।