काठमाडौ, वैशाख २९ । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा बढ्दो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले कोभिड १९ सहायता केन्द्र स्थापना गरेको छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नु भएको छ ।
कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि आफूलाई आवश्यक सेवा टिपाउन सकिनेछ ।
सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्नुहुनेछ । सहायता केन्द्रका तर्फबाट यतिखेर सेवा प्रवाहमा निकै ठूलो भूमिका निर्वाह भैरहेको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका निकै धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको छ ।
मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्याउदै आएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परामर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।
मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ ।
क्र.स | सहायता हुने अत्यावश्यक क्षेत्रहरु | सम्पर्क व्यक्ति |
१. | अक्सिजन सिलिण्डर व्यवस्थापन | रामचन्द्र संघई/सौरभ ज्योति |
२. | अस्पताल/आइसोलेसन केन्द्र सहजीकरण | हेमराज ढकाल/रविन श्रेष्ठ |
३. | अस्पताल व्यवस्थापन | ई. देशबन्धु बस्नेत (अजित)/बाबुकाजी कार्की/ डा. केयुर गौतम |
४. | एम्बुलेन्स/आइसोलेसन केन्द्र | रञ्जितराज आचार्य |
५. | औषधी/मेडिकल उपकरण | प्रवलजंग पाण्डे/भक्त हमाल |
६. | होटल/हवाई यातायात | ज्योत्सना श्रेष्ठ/विनायक शाह/विनोद सापकोटा |