Kath khabar
ऐतिहासिक सिन्धुलीगढिबारे चलचित्र बन्ने

काठमाडौं, माघ १६। काठमाडौं निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढि’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धुलीगढिमा भएको युद्धमा आधारित चलचित्र ‘सिन्धुलीगढि’ को आलेखमा निर्देशक घिमिरेले पटकथा सम्वाद तयार गर्नुभएको छ। उक्त चलचित्रका लागि चलचित्र विकास बोर्डबाट प्रतिलिपि अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताउनुभयो । चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा निर्माण हुनेछ ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुली, काभ्रे र काठमाडौँमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको जानकारी दिनुभयो । युद्धको कथालाई सिन्धुलीगढीमार्फत बाचन गरी बीरताको गाथा सन्सारलाई सुनाउन पाउँदा गौरवान्वित भएको र जीवन्त कार्य गर्न पाउँदा सारै हर्षित भएको अधिकारीले बताउनुभयो । उहाँले चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताउनुभएको छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा स्वरांकन गरिने जानकारी दिनुभयो । चलचित्रका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर  फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिशनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । विदेश व्यवस्थापनमा शुक्र राइ र भारतीय व्यवस्थापनमा उपहार लामिछाने रहेका छन् भने युरोप अमेरिकामा निर्माता स्वयम्‌ले जिम्मेवारी लिनुभएको चलचित्रको निर्माण टिमले कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारी गरेको छ । निर्माता अधिकारी लामो समय युरोप र अमेरिकाको बसाइपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्किनुभएको हो । उहाँ यही चलचित्रबाट निर्माताको रुपमा डेब्यु गर्दै हुनुहुन्छ ।

 


 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update