Kath khabar
बैंक तथा फाइनान्सहरुलाई राष्ट्र बैंकको लगानी अफर

काठमाडौं, माघ १६। बैंक तथा फाइनान्स कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले लगानीको प्रस्ताव गरेको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुद्दती निक्षेपकोरुपमा दुई अर्ब ३० करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरिएको हो ।

राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरूको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपकोरुपमा २०७८ फागुन तीन गतेदेखि २०७९ फागुन तीन गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैकको भनाई छ । यसरी मुद्दती निक्षेपको रुपमा राखिने कुल रकम मध्ये वाणिज्य बैंकहरूको लागि एक अर्ब ८४ करोड, विकास बैंकहरूको लागि ३४ करोड ५० लाख र फाइनान्सहरुको लागि ११ करोड ५० लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ । रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले यही माघ १८ गते अपरान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्नेछ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरू तोकिएको राष्ट्र बैकले जनाएको छ ।  

 

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update