Kath khabar
सोफियालाई मिस इको इन्टरनेशनल नेपालको ताज

काठमाडौं, माघ १७। इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्नुहुने भएको छ । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज सहित उक्त प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाले छानेको हो । भुजेलले यस अगाडि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी हुनुभएको थियो ।

शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाईदिनुभएको हो । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एशिया’ उपाधि नेपाल ल्याउन सफल हुनुभएको थियो ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुनुहुन्छ। भुजेललाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित ब्यक्तिहरूका ग्रुमिङ गरिनेछ । अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रीन आर्ट मिडियाका सिइयो प्रविण लाकौल लगायतको उपस्थिति रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ बर्षिया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताउनुभयो ।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफूलाई लागेको ग्रीन आर्ट मिडियाका सिइयो प्रविण लाकौलले बताउनुभयो । २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिनुभएको हो । मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो। जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो। यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
 

 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update