Kath khabar
लगानीकर्ता ८८ अर्ब नोक्सानीमा, सरकारलाई भने निरन्तर लाभ

काठमाडौं, माघ १८। लगानीकर्ताहरू गत साउनदेखि यता ८८ अर्ब नोक्सानीमा हुँदा पनि सरकारले भने मनग्य आम्दानी गरेको छ। विगत ६ महिनामा मात्रै सरकारले शेयरबजारबाट ८ अर्ब कमाएको छ। जबकी गत वर्षको  सोही समयमा यस्तो आम्दानी ३ अर्ब मात्रै थियो । शेयरबजारमा  लगानीकर्ताको आकर्षण बढ्दै गएका बेलामा गत भदौ तीन गते नेप्से परिसुचक ३२ सय ८ अंकमा पुग्यो । तर, बिस्तारै बैङ्कहरूले निक्षेपमा बढाउँदै गएको ब्याज र  तरलता अभावका कारण बजार घट्न थाल्यो ।

गत मंसिर २७ मा घटेर यो २२ सय ९५ सम्म ओर्लियो । जुन अहिले भने २९ सय अंकको आसपासमा रहेको छ । ३२ सय अंकको आसपासमा रहेका लगानीकर्ताले अहिले पनि क्षति भोगेका छन् । विगत ७ महिनामा शेयर लगानीकर्ताले शेयरबजारबाट ८८ अर्बको नोक्सानी बेहोरेका छन् । तर, यही बेलामा सरकारले भने पुँजीगत लाभकरबापत ८ अर्ब  ६ करोड र आयकर बापत २७ करोड राजस्व प्राप्त गरेको छ । गत वर्षको सोही समयमा भने यस्तो आम्दानी कुल ३ करोड ७० लाख मात्रै थियो । यसरी हेर्दा गत वर्षको तुलनामा शेयरबजारबाट प्राप्त गर्ने आम्दानी ९० प्रतिशतले बढेको  छ ।

सरकारले एक वर्ष भित्रमा खरिद गरेर बिक्री भएको शेयरमा ७ दशमलव पाँच प्रतिशत कर लगाउँछ । त्यो भन्दा बढि अवधिमा खरिद बिक्री भएका शेयरमा भने सरकारले ५ प्रतिशत कर लगाउने गरेको छ। बजारमा जति बढि शेयर खरिदबिक्री भयो त्यति बढि सरकारलाई आम्दानी बढि हुने भएकाले यो पटक राजस्व बढि आएको देखिएको हो । सरकारले यो क्षेत्रबाट आम्दानी गरेपनि  शेयरबजारको विकासका लागि भने खर्चन नसकेको विज्ञको दाबी छ । कर प्राप्ति गर्ने यस्तो  क्षेत्रमा सरकारले सबै प्रक्रिया पुराएर समेत प्राथमिक शेयर निष्कासनका लागि महिनौ झुलाएर राख्ने गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update