
काठमाडौं, माघ १८ । लगानीकर्ताहरूको लागि इमर्जिङ नेपाल लिमिटेडले पाँच करोड ५५ लाख ६० हजार रुपैयाँको साधारण शेयरको बिक्री खुल्ला गर्ने भएको छ । यही माघ २६ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ५५ हजार छ सय कित्ता साधारण शेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
एनआईसी एशिया क्यापिटल लिमिटेड शेयर बिक्री प्रर्वद्धक रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा फागुुन एक गते र ढिलोमा फागुन ११ गते बन्द हुने छ । बिक्री गरिने कुल शेयर मध्येमा दुई प्रतिशत अर्थात ११ हजार एक सय १२ कित्ता शेयर कर्मचारीहरूको लागि छुट्याईएको छ भने पाँच प्रतिशत अर्थात २७ हजार सात सय ८० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । यसबाहेक बाँकी रहेको पाँच लाख १६ हजार सात सय आठ कित्ता शेयर भने सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लगानीकर्ताहरूले न्यनतम १० देखि अधिकतम एक हजार कित्ता सम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । हाल अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण शेयरको बिक्री पश्चात भने चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।