
काठमाडौं, माघ १८ । अघिल्लो दिन घटेको नेप्सेमा आज मंगलबार भने सुधार देखिएको छ । आज नेप्से १९ दशमलव २६ अंकले बढेर २८ सय ९१ दशमलव ३० अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ पनि तीन दशमलव ९८ अंकले बढेर पाँच सय ४२ दशमलव ९० अंकमा पुग्न सफल भएको छ । आज दुई सय २३ वटा कम्पनीहरूको ८० हजार आठ सय २९ पटकको कारोबारमा एक करोड २१ लाख ६७ हजार छ सय पाँच कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कारोबार रकम छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जिवन बीमा, विकास बैंक, फाइनान्स, लघुवित्त, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरूको सूचक बढेकाछन् भने जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र उत्पादनमूलक सहितका चार वटा समुहहरूको सूचक घटेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड, फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, ओरेन्टल होटल लिमिटेड, नेरुडे लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेशनल हाइड्रो पावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपरतामाकोसी हाइड्रो पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी आदि परेकाछन् ।