काठमाडौं, माघ १८। नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको दशौँ मिनेटमा गोल गर्नुभएको थियो। आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गर्नुभएको थियो ।
पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भयो । यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तिमगरले गोल गर्नुभएको थियो ।
मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औँ मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सक्नुभएन। उहाँको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाउनुभयो। नेपालका दिनेश राजवंशीले मरिससका लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यसबाहेक दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यसैगरी खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले रातो कार्ड पाउनुभएको थियो । यता नेपालका पुजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड पाउनुभएको थियो। खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाउनुभएको थियो ।