काठमाडौं, माघ १९। बुधबार रातिदेखि नेपालको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको छ। बुधबार रातीबाट यस प्रणालीको प्रभाव बढ्ने देखिन्छ। देशभरको मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरी आंशिक देखि सामान्य बदली रहने देखिन्छ।
शुक्रबार भने देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। शनिबार मुलुकका केही स्थानमा हिमपात र वर्षा भए पनि आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ ।