काठमाडौं, माघ १९। विश्वको छैटौँ कान्छो गोलकर्ता विमल घर्ती मगरले मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई अरु कुरासँग तुलना गर्न सक्दिनँ भन्नुभएको छ। उहाँले सोसल मिडिया मार्फत आफ्नो कुरा व्यक्त गर्नुभएको हो ।
उहाँले लामो समय मैदानमा प्रत्यक्षरूपमा नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरहेको बताउनुभएको छ । साथै उहाँले टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै, आउने दिनहरूमा पनि नेपालीहरूमा खुसी बाँड्न सदैव तत्पर रहने कुरा जनाउनुभएको छ।
विमल घर्ती मछिन्द्र एएफसीका लागि फरवार्डको रूपमा खेल्ने नेपाली राष्ट्रिय टोलीका फुटबलर हुनुहुन्छ। आफ्नो बुबा र उहाँको बाल्यकालका गुरुबाट फुटबल खेल्न प्रेरित हुनुभएका विमल अन्तर्राष्ट्रिय डेब्यु खेलाडी पनि हुनुहुन्छ ।
एसीएल इन्जुरीको कारण तीन वर्षपछि मैदानमा उत्रिनुभएका विमलले गत हप्ता दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध नेपालले १–० को जित निकाल्दा विमलले निर्णायक गोल गर्नुभएको थियो ।