काठमाडौं, माघ २०। घरेलु कामदारका लागि खाडी मुलुक पुनः खुला गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । घरेलु कामदारका लागि खाडी मुलुक जान प्रतिबन्ध लगाए पनि अवैध बाटो हुँदै जाने युवाको संख्या भने बढ्दै गएको हुँदा यसलाई व्यवस्थित गर्ने तयारीमा मन्त्रालय लागेको हो ।
खाडीलगायत विभिन्न मुलुकमा गरेर करिब एक लाख ३९ हजार घरेलु कामदारको रुपमा कार्यरत रहेका छन् । यस्तै, घरेलु कामदारका लागि जान चाहने तथा बिदामा आएकाहरूको संख्या समेत उल्लेखनीय रहेको छ । जसले गर्दा खाडी मुलुक पुनः खुला गर्नु उचित हुने भन्दै यसको छलफलमा श्रममन्त्री, सचिव र मन्त्रालयका अधिकारीहरू लागेको मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले बताउनु भयो । ‘खाडी मुलुकमा लगाएको प्रतिबन्धले विशेष गरी महिलाहरू प्रभावित भएका छन् । उहाँहरु रोजगारीको लागि खाडी मुलुक जान चाहनुहुन्छ’, उहाँले भन्नु भयो, ‘यसलाई खुला गरेर सहजीकरण गर्नु आवश्यक छ ।’ घरेलु कामदारलाई खाडी मुलुक पठाउनको लागि मन्त्रालयले आन्तरिक छलफलका साथै संसदीय समितिहरुसँग समेत छलफल अघि बढाउने तयारी गरेको छ ।
यसअघि बिदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्रालयका पदाधिकारीहरूले आग्रह गरेका थिए । तर, हालसम्म उक्त आग्रह कार्यान्वयन हुन भने सकेको छैन । जसले गर्दा खाडी जान चाहने घरेलु कामदारले अवैध बाटो रोज्न बाध्य देखिनु हुन्छ ।
प्रतिबन्ध लागेसँगै अवैध बाटो भएर खाडी मुलुक जाने घरेलु कामदारको संख्यामा भने कमी आएको पाइँदैन । मानव तस्करहरूले भारतको बाटो हुँदै खाडी मुलुकका लागि घरेलु कामदार लगेको पाइन्छ भने हाल पनि सो कार्यले निरन्तरता पाएको छ । युवाहरू पनि खाडी मुलुक खुला गर्नुपर्ने माग गर्दै आएको पाइन्छ । मुलुकमा रोजगारी नपाएको भन्दै घरेलु कामदारका रुपमा खाडी जान पाउनुपर्ने उहाँहरुको माग छ । संसदीय समितिले खाडी मुलुक खुला गर्ने विषयमा ठोस निर्णय नलिँदा समस्या भएको हो ।
घरेलु कामदारको प्रतिबन्धलाई लिएर तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको स्वार्थ बाझिएको समेत आरोप लागेको थियो । २० चैत २०७३ मा व्यवस्थापिका-संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । समितिले सम्बन्धित मुलुकले कामदारसम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा घरेलु कामदार पठाउने काम बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिबन्ध लगाएको हो । त्यसअघि वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ अनुसार श्रम मन्त्रालयले खाडीमा कामदार पठाउन श्रम स्वीकृति दिँदै आएको थियो ।