काठमाडौं, माघ २०। संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ। आगामी शनिबार हुने फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला सोही प्रतियोगताका आशालाग्दा बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा रहनुभएको छ ।
जन्मिदै सुमधुर स्वर लिएर जन्मिएका ९ वर्षका आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होला। भारतको सिलगुढीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि महिनौँ काठमाडौंमा बसेर प्रतियोगितामा भिडन्त गरिरहेका बाल गायक आदित्यले आफ्नो जादुमयी स्वरको कमाल त देखाइरहनुभएको छ ।
आदित्यको गायन यात्रामा जजहरु न्ह्यू बज्राचार्य, कालिप्रसाद बासकोटा र इन्दिरा जोशी भावुक नबनेको पल नै छैन । हरेक एपिसोडमा जज र जुरीहरुले आदित्यलाई स्याबासी दिनुहुँदै उहाँको काँधमा ढाप मारेकै हुन्छन । र त आदित्यले फाइनलसम्मको यात्रा चुम्न सफल हुनुभएको छ ।
गायक हेमन्त शर्माको सुन साइली बोलको गित गाएर प्रबेश गर्नुभएका आदित्य हरेक एपिसोडमा ब्लकबस्टर्ड पर्फमेन्स पाएर पुरस्कृत हुनुभएको छ । यसअघि भारतको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्समा भिडेका आदित्यले चर्चा बटुल्न सफल हुनुभएको थियो । तर पछिल्ला दिनमा उहाँ आफ्नो जादुमयी स्वर र अद्भुत कलाका कारण पनि सबैको मन मुटुमा बस्न सफल हुनुभएको छ । सिलगुढीको कर्म म्युजिक एकेडेमीमा गायनका कक्षा लिइरहनुभएका आदित्यमा गज्जबको आत्मविश्वास रहेको छ ।
आफ्ना बाबुसँग सारेगमप लिटल च्याम्प्स नेपालको प्रतिस्पर्धाका लागि काठमाडौँ आउनुभएका यी बाल प्रतिभाले आफूले उपाधि जितेको खण्डमा भोलिका दिनमा नेपाली गीत संगीतलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आदित्यको गायन कला देखेर शो हेर्ने र उहाँलाई सुन्नेहरुले जुनियर नारायण गोपालको उपाधि समेत दिइरहनुभएको छ । भोटिङ कोड ०२ रहेका आदित्यलाई प्रभु पेको एप्स डाउनलोड गरेर वा मम एपमार्फत भोटिङ गर्न सकिनेछ । फाइनलमा आदित्यले रोशा फुँयाल, अविज्ञा घिमिरे, अरुण सुनार र कृपा पौडेलसँग प्रतिस्पर्धा गर्नुहुनेछ । प्रतियोगिताको फाइनल यही शनिबार हुँदैछ ।