Kath khabar
मुलुकको अर्थतन्त्र कमजोर 

काठमाडौं, वैशाख २९ । मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले वैशाख २९ गते बुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी नौ महिनाको प्रतिवेदन अनुसार मुलुकको अर्थतन्त्र कमजोर देखिएको हो । 

प्रतिवेदन अनुसार नौ महिनामा नेपालले ९४ अर्ब रुपैयाँको हाराहारीमा बस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब रुपैयाँ भन्दा बढीको बस्तु तथा सेवा आयात गरेको छ । यस अवधिमा नेपालले १० खर्ब भन्दा बढीको बैदेशिक व्यापार घाटा बेहोरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको कुल वस्तु निर्यात २० दशमलव दुई प्रतिशतले बढेर ९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः २३ दशमलव पाँच प्रतिशत र १४ दशमलव पाँच प्रतिशतले निर्यात बढेको छ भने चीनततर्फको निर्यातमा २७ दशमलव तीन प्रतिशतले घटेको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आ.व.को नौ महिनामा कुल वस्तु आयात भने १३ दशमलव एक प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात सात दशमलव पाँच प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २० दशमलव तीन प्रतिशत र सात दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा दुई दशमलव तीन प्रतिशतले कमी आएकोे छ । 

स्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जलेश्वर, तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो नौ महिनामा व्यापार घाटा १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दशमलव नौ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात आठ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालुु आवको पछिल्लो नौ महिनामा विप्रेषण आप्रवाह अर्थात रेमिटेन्स रकम भने १६ दशमलव पाँच प्रतिशतले बढेर सात खर्ब २९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव दुुई प्रतिशतले घटेकोे थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई छ अर्ब १९ करोड पुगेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update