Kath khabar
फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौं, माघ २१। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाहअल्मुताइरी सम्मानित हुनुभएको छ। शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो। असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्कारले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।

यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकोले उहाँलाई आज एक कार्यक्रमकाबीच सम्मान पत्र र नगद पुरस्कार वितरण गरिएको हो ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update