या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥
शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्॥
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्॥
काठमाडौं, माघ २३। आज संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वती पूजाको दिन । माघ शुक्ल पक्षको पञ्चमीलाई वसन्त पञ्चमीका रुपमा मनाइन्छ । यस दिन विद्या र कलाकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ ।
वसन्त पञ्चमीको यो पर्व ज्ञान, संगीत र कलाकी देवी सरस्वतीलाई समर्पित गरिन्छ। यस दिन विद्यालय, कलेजका साथै मन्दिरहरूमा देवी सरस्वतीको पूजा गरिन्छ । यस दिन पहेँलो वा सेतो कपडा लगाएर पूर्व वा उत्तर दिशामा फर्केर सेतो चन्दन तथा पहेँलो र सेतो फूल चढाएर देवी सरस्वतीको पूजा गर्नुपर्दछ ।
सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोभित सेतो कमलको फूलमा आसित देवी जसको ब्रह्मा, विष्णु तथा शिव सबैले उपासना गर्नुहुन्छ । हामीले सरस्वतीलाई विद्याकी देवी मान्छौ र पूजा आराधना गरी श्री पञ्चमी मनाउने गर्छौ । आजको दिनमा साना नानीहरूलाई अक्षराम्भ गराई विद्यासाधनाको जग बसालिन्छ ।
वसन्त पञ्चमीले वसन्त ऋतुको प्रारम्भ हुने संकेत गर्छ । आजको दिन सिर्जना अनि ज्ञानको पूजा गर्ने दिन हो । विद्या, कला, विज्ञान अनि विचारकी खानी देवी सरस्वतीको सम्झनामा पूजा गर्ने गरिन्छ। यस दिन बिहानै सबेरै नुहाइधुवाई, चोखो लुगा लगाएर विद्यार्थीहरू सरस्वती मन्दिर गई पूजा आराधना गर्ने गर्दछन्। यस दिन कुनै पनि कामको सुरुवात गर्नलाई साइत हेर्न नपर्ने विश्वास गरिन्छ । अति सुभ र उत्तम दिन मानिने यो दिन शुभ कार्य गर्न उचित मानिन्छ ।
सरस्वतीको पवित्र प्रसाद पाएर खुसी भएका श्रीकृष्णले द्धापर युगमा वरदान दिई वसन्त पञ्चमीका दिन सरस्वती भगवतीको पुजा गर्ने चलन चलाएका थिए भन्ने पौराणिक कथनहरु पाइन्छन्। त्यसैले यसै दिन सरस्वतीको जन्म भएको कुरा पौराणिक धर्मग्रन्थहरुमा प्रष्ट रहेको छ ।