काठमाडौं, माघ २४। नेपालमा कागज बनाउन प्रयोग हुने अर्घेली (लोक्ता) जापानमा पैसा बनाउने कच्चापदार्थ हो । नेपालको इलाममा उत्पादित वनस्पति स्वदेशमा नेपाली कागज बनाउन प्रयोग गरिन्छ भने त्यसैलाई जापानमा पैसा बनाउन प्रयोग गरिन्छ। जापान निर्यात हुन थालेपछि पाँचथर र इलामका किसानले लोक्ताको व्यवसायिक खेती सुरु गरेका हुन् ।
समुद्री सतहदेखि १ हजार ७ सय मिटरदेखि दुई हजार ५ सय मिटरसम्म अर्घेलीको खेती हुने गरेको बताइएको छ । कम लागतमा राम्रो आम्दानी लिन सकिने भएपछि यसको व्यवसायिक खेतीतर्फ यहाँका किसान आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षौँसम्म यसबाट आम्दानी लिन सकिन्छ। सानो पोथ्रा बुट्यान वनस्पतिमा पर्ने लोक्ताको बोक्राबाट कागत निर्माण हुन्छ । विरुवा रोप्न र उत्पादन गर्न कम श्रम लाग्ने भएकाले यसको खेती आम्दानीमूलक भएको किसानहरूको भनाई छ । कम मेहनत र कम लगानीमा नै यसबाट धेरै आम्दानी लिन सकिने व्यवसायीहरू बताउँछन् ।
नेपालमा सरकारी कामकाजमा र सामान्य मुचुल्का र कागजी प्रमाणका लागि प्रयोग हुने नेपाली कागज लोक्ताबाट नै निर्माण हुन्छ । यहाँ प्रयोग हुञ्जेल यसको भाउ पनि सामान्य मात्र रहेपनि हाल जापान निर्यात हुन थालेपछि दाम उच्च रहेको व्यवसायीहरू बताउँछन् ।
सन्दकपुर गाउँपालिकाको माइपोखरी, माइमझुवा, देउमाई नगरपालिकाको चमैता, बाघखोर, राँकेटार लगायतका स्थानमा यसको व्यवसायिक खेती हुने गरेको छ । वार्षिक करिब १५ करोड रुपैयाँभन्दा बढीको अर्घेलीको कारोबार हुने गरेको किसानहरू बताउँछन् । प्रतिकिलो करिब ७० रुपैयाँसम्ममा अर्घेलीको बिक्री हुने गरेको छ । बजार खोज्न टाढा जानु नपर्ने, घरमा नै व्यापारी आएर खरिद गर्ने र कम झन्झटमा धेरै उत्पादन गर्न सकिने किसानहरूको भनाइ छ । यसवर्ष जिल्लाबाट राम्रो परिमाणमा अर्घेली बिक्री हुने अर्घेलीका लोक्ता इलाममा उत्पादन भएपनि जिल्लामा प्रशोधन भने हुँदैन। यहाँ उत्पादन भएको लोक्ता झापा बिर्तामोडमा रहेको अर्गेली प्रशोधन केन्द्रसम्म लैजानुपर्ने हुन्छ । यो लोक्ता कागज मात्र हैन कपडा बनाउनका लागि पनि प्रयोग हुने गरेको छ ।
जापान निर्यात हुने लोक्ता भने काठमाडौंसम्म पुर्याउनुपर्ने हुन्छ । जिल्ला वन कार्यालयका अनुसार गत वर्ष मात्र इलाममा १५ हजार ४ सय किलो अर्घेली उत्पादन भएको थियो । यो अर्घेली पाँचथरमा समेत राम्ररी उत्पादन हुन्छ । किसान आफैँले पनि घरमा नेपाली कागज बनाउने गरेका छन् । मेची राजमार्गस्थित पाँचथरको लालिखर्क आसपासका किसानले लोक्तालाई नेपाली कागज (काँचो कागज) बनाउने गरेका छन् ।