काठमाडौ, वैशाख २९ । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि एक करोड चार लाख सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा दुई लाखका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।
हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रबिधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइदिन आग्रह समेत गरेको छ ।