Kath Khabar
वर्डल : शब्द पहिल्याउने एउटा साधारण खेल जसले विश्वमा प्रभाव जमाइरहेको छ

काठमाडौं, माघ २५।  हाल विश्वलाई तरङ्गित बनाइरहेको शब्दको एउटा अनलाइन खेललाई न्यूयोर्क टाइम्सले ठूलो मूल्यमा खरिद गरेको छ।

वर्डल नामक खेलमा प्रयोगकर्ताले छ पटकको प्रयासमा पाँच वटा अक्षरका शब्दहरू पत्ता लगाउनु पर्छ तर यसको साधारण अवधारण र एक दिनमा एक पटक मात्रै खेल्न पाउने सीमितताका कारण मानिसहरू आकर्षित भएका छन्।

यो खेल न्यूयोर्कका जोस वर्डलले अघिल्लो वर्षको अक्टोबरदेखि सार्वजनिक गर्नुभएको थियो। उहाँले ट्विटरमा भन्नुभएको छ, 'वर्डललाई सार्वजनिक गरिएयता खेलेका प्रत्येक व्यक्तिबाट प्राप्त प्रतिक्रियाले मलाई अद्भुत अनुभव गराएको छ। उक्त खेल मैले कल्पना गरेभन्दा वृहत् स्तरमा गयो।'

आफ्नो प्रेमिकाका लागि बनाइदिएको खेलप्रति ठूलो स्तरमा आकर्षण देखिएकोमा उहाँले प्रसन्नता जनाउनुभयो। वर्डलले प्रेमिका पालक शाहलाई महामारीमा समय कटाउन शब्दसम्बन्धी खेल बनाइदिनुभएको थियो। साथीहरू र परिवारबाट चासो व्यक्त भएपछि उहाँले तीन महिनाअघि सो खेल सार्वजनिक गर्नुभएको हो । अहिले त्यो खेलका दैनिक प्रयोगकर्ताको सङ्ख्या दशौँ लाख छ। वर्डलको सफलतालाई दर्जनौँ भाषामा प्रतिपादित गर्ने प्रयास भइरहेका छन्।

अङ्ग्रेजी संस्करणको सफलतासँगै यो खेलका विभिन्न भाषाका संस्करणहरू पनि तयार गरेका छन्। अहिलेसम्म एउटा सूचीमा यो खेल ७९ भाषामा २२२ प्रकारका रहेको पाइएको छ। चेन्नईका सफ्टवेयर आर्किटेक्ट पी शङ्करले छ पटक अनुमान लगाउन सक्ने सीमा पूर्ण रूपमा हटाउँदै खेलको तामिल संस्करण विकास गर्नुभएको छ। तामिल भाषामा १२ वटा स्वर वर्ण र १८ वटा व्यञ्जन वर्ण रहेको छन् र त्यसलाई मिलाउँदा २०० वटा चिन्हहरू छन् जसले छ पटकमा नै सही अनुमान लगाउन कठिन बनाउँछ। 'मानिसहरूले मलाई आफ्नो अङ्क पठाउँछन् र मैले ७० देखि ८० पटक प्रयास गरेका मानिसहरू पनि देखेको छु,' शङ्करले भन्नुभयो।

साक्षर बनाउने उद्देश्य
एजुकेसन युनिभर्सिटी अफ हङकङका सहप्राध्यापक लाऊ चाक मिङ्ले वर्डलको ज्यूटपिङ संस्करण तयार पार्नुअघि वर्षौँदेखि क्यानटोनिज भाषाको श्रोत विकास गर्नुभएको थियो । उहाँले भन्नुभयो, 'मैले पहिलो पटक वर्डल करिब तीन हप्ताअघि खेले र त्यसले मलाई लट्ठ बनायो।'

उहाँले जनवरीको अन्त्यमा खेललाई सार्वजनिक गर्नुभयो र त्यसयता एक लाखभन्दा बढी खेलिएको छ। यो दुर्लभ प्रकारको वर्डल हो जहाँबाट मानिसहरूले केही नयाँ कुरा सिक्नेछन्। शङ्करले राखेको उद्देश्य विश्वभरका यो खेलका अन्य संस्करणले पनि थप प्रमाणित गरेको छ। यसको स्वरूप नयाँ होइन र यो सन् १९७० को दशकमा सृजना गरिएको मास्टरमाइन्ड खेलसँग मिल्दोजुल्दो छ। र अरू एपमा आधारित खेल स्क्र्याबल र वर्ड्स विथ फ्रेन्ड्स जस्ता खेलहरू पनि पछिल्ला वर्षहरूमा लोकप्रिय बनेका छन्।

(बीबीसी नेपालीबाट साभार)

 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update