Kath khabar
‘एक्स्पो २०२० दुबई' मा कार्यरत नेपाली लगायत आप्रवासी श्रमिकहरु विभेद र वाध्यकारी श्रमको शिकार

काठमाडौं, माघ २६ । अन्तराष्ट्रिय मानव अधिकार संस्था इक्वीडेमद्धारा युएइको दुबईमा हाल सञ्चालन भइरहेको व्यापारिक मेला ‘एक्स्पो २०२० दुबईमा कार्यरत नेपाली लगायत आप्रवासी श्रमिकहरू विभेद र वाध्यकारी श्रमको शिकार भएको जनाएको छ। इक्वीडमले ‘एक्स्पो २०२० दुबई’मा कार्यरत श्रमिकलाई गोप्य रुपमा भेटवार्ता गरी तयार पारेको “खुलासा भयोः एक्स्पो २०२० दुबईमा विभेद र बाध्यकारी श्रमको अभ्यास” प्रतिवेदनमा उक्त समस्या पहिचान गरिएको हो । उक्त प्रतिवेदन गत बुधबार सार्वजनिक गरिएको थियो ।

अनुसन्धानकर्ताहरूलाई समेत आप्रवासी श्रमिकहरुसँग सहज रुपमा भेट्न नदिएको युएइ सरकारले श्रमिक माथि कति न्याय गरेको होला भन्ने शंका गर्ने ठाँउहरु प्रशस्त रहेको छ । प्रतिवेदन अनुरूप २०२० दुबईका आप्रवासी श्रमिकहरूले जातीय विभेद र धम्की, बाध्यकारी श्रमजन्य अभ्यासहरू,गैरकानुनी भर्ना शुल्क ,पारिश्रमिक र सुविधाका रकमहरू भुक्तानी नदिइने ,पासपोर्ट नियन्त्रणमा लिने र गुनासो सुनवाई गर्ने संयन्त्रको पहुँचमा असहजता वा अनिच्छा लगायतका समस्याहरू भोग्नु परेको छ ।

त्यस्तै इक्वीडेमसँग सहभागी श्रमिकहरुमध्ये अधिकांशले आफूले श्रम अधिकारको उल्लङ्घनको सामना गर्नु परेको बताउनु भएको छ । युएईको कानुनले बाध्यकारी श्रम वा राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय महासन्धिले मानव बेचविखनको अवस्था भनी परिभाषित गरेका कुनै पनि अभ्यासहरू गर्न निषेध गरेको छ । तर त्यहाँको राज्य प्रणालीबाट बाध्यकारी श्रम र मानव बेचविखनका घटनाहरूमा विरलै अभियोजन गर्ने गरिन्छ । यसैबीच इक्वीडेमका प्रमुख कार्यकारी अधिकृत मुस्तफा कादरीले भन्नु भयो, ‘हाम्रो अध्ययनले आधुनिक एवं अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको अवस्थाहरू स्थापित गर्ने भनी इमिरेट्सले गरेको घोषणा र आप्रवासी श्रमिकहरूको नियतिको रुपमा रहेको जातीय विभेद तथा बाध्यकारी श्रमका अभ्यासहरुकाबीचमा ज्यादै ठूलो दूरी रहेको तथ्य उजागर गरेको छ । उजुरी दर्ता गर्ने सम्बन्धमा एक्स्पोका आयोजकहरूले राष्ट्रिय कानुन तथा संयन्त्रहरुको भन्दा पनि उन्नत मापदण्डहरू बनाएका भए पनि रोजगारदाता वा राज्यका निकायहरूबाट सजाय भोग्नु पर्ने त्रासका कारण श्रमिकहरू बोल्न समेत पनि ज्यादै डराउने गरेको हाम्रो अध्ययनले देखाएको छ । ’  

एक्स्पो २०२० दुबईको एउटा क्याफेमा कार्यरत भारतीय नागरिक बाबिक (नाम परिवर्तन) ले इक्वीडेमसँग कुराकानी गर्ने क्रममा ज्यादै बढी काम लगाउने र सुविधा नदिने गरेको बताउनुभयो। ‘ज्यादै थकित भईन्छ । बिहान सबेरैदेखि रातिसम्म काम गर्नु पर्छ। परीक्षणकाल पश्चात् मेरो पारिश्रमिक बढाउने भनिएको थियो, तर आजसम्म पनि त्यसो हुन सकेन। न त मैले मेरो रोजगारदाताबाट कहिल्यै अतिरिक्त समय काम गरे बापतको भुक्तानी नै पाएँ । उनीहरूले कर्मचारीलाई दासको जस्तो व्यवहार गर्छन्, मैले भन्न खोजेको आधुनिक युगको दासता,’ उहाँले भन्नुभयो  ।

अर्का एक एक्स्पोको आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा कार्यरत कामदार घेची (नाम परिवर्तन) का अनुसार यहाँ काम गर्नेहरुमा राष्ट्रियताका आधारमा धेरै नै विभेद हुने गर्दछ । मैले त्यस्ता धेरै विभेदहरु देखेको छु । कम्पनीले कर्मचारीहरुलाई निष्काशन गर्न खोज्दा खासगरी कालो छाला भएका श्रमिकहरुका लागि बोलिदिने कोही नभएको मैले देखेको छु । केही श्रमिकहरुलार्ई अवकास दिइयो जसमा खासगरी अफ्रिकीहरु थिए र उनीहरुलाई भुक्तानी बिना नै अवकाश गरेर पठाइयो ।

यसैबीच युएईले संरक्षणको औपचारिकता र बाध्यकारी श्रमजन्य अभ्यासको बीचमा रहेको दुरीलाई सम्बोधन गर्नु पर्ने इक्वीडमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । युएईले श्रम क्षेत्रमा सृङ्खलागत सुधारको घोषणा गरेको छ, जुन आजैबाट कार्यान्वयन हुनेछ । तर राज्यका निकायहरुमा विद्यमान कार्यान्वयन पक्षको कमजोरीकाबीच व्यवसायहरुबाट ती संरक्षणका मापदण्डहरू पालना नगरिने समस्या सम्बोधन ती सुधारका प्रयासहरुले पनि गर्न सक्ने छैन। इमिरेट्समा ट्रेड युनियनलाई अझैपनि गैरकानुनी मानिँदा आफ्ना चुनौतीहरुका बारेमा बोल्दा प्रतिशोध खेप्नु पर्ने वा रोजगारी नै गुमाउनुपर्ने जस्ता भयको सामना बेगर प्रतिनिधित्व गर्न पाउनु पर्ने अधिकारबाट श्रमिकहरू वञ्चित भएका उसले प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै इक्वीडेमले विस्तृत छानबीन गर्न र सबै श्रम कानुनहरु कार्यान्वयन गर्न, विभेदहरु निषेध गर्न प्रभावकारी कानुन कार्यान्वयन गर्न, र समान कामको लागि समान पारिश्रमिक लागू गर्न, एक्स्पो २०२० दुबईमा कार्यरत आप्रवासी श्रमिकहरू उपर शोषणमा संलग्न व्यक्ति तथा संस्थालाई अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड बमोजिमको कानुनी दायरामा ल्याउन , अन्तर्राष्ट्रिय श्रम महासन्धि मुताविक हुने गरी स्वतन्त्र रुपमा आवद्ध हुने, संगठन गर्ने, सौदावाजी गर्ने र ट्रेड युनियन खोल्ने जस्ता श्रमिकहरूको अधिकारको सुनिश्चित गर्न कानुन पारित लगायतका कामहरु गरी श्रमिकको अधिकार रक्षा गर्न आह्वान गरेको छ ।

एक सय ९२ वटा देशका मण्डपहरु रहेको र सर्वाधिक ठूलामध्येका केही उपभोक्ता ब्राण्डहरु प्रायोजक र साझेदार रहेको एक्स्पोमा संयुक्त राज्य अमेरिका, चीन, जापान, संयुक्त अधिराज्य र भारत लगायतका विश्वका प्रमुख आर्थिक क्षेत्रहरुको सहभागिता रहेको छ । एक्स्पोमा बाध्यकारी श्रमजन्य अभ्यासबाट श्रमिकहरुलाई संरक्षण गर्नमा देखिएको बिफलताले एक्स्पो २०२० दुबईमा कार्यरत आप्रवासी श्रमिकहरू विरुद्ध भएका जोखिम उपरको जिम्मेवारी निभाउनमा देखिएको अन्तर्राष्ट्रिय समुदायको असक्षमतालाई समेत उजागर गर्ने बताइएको छ ।   

यसअघि नेपाली नियोगहरुले खाडी मुलुकमा रहेका नेपाली कामदारको हकमा भने श्रम शोषण देखि यौन शोषण सम्म हुने गरेको तथ्य बाहिर ल्याउदै आएको पाईन्छ । नेपाली युवाहरुका लागि गन्तव्य मुलुकको रुपमा रहेको खाडीका  छ वटा मुलुकहरु (साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेटस (युएइ), बहराइन, कुवेत, ओमान) मा कार्यरत रहेको पाईन्छ। जहाँ श्रमिकलाई श्रम अधिकारबाट वञ्चित गरिन्छ र त्यहाँका सरकार भने मूकदर्शक बनिरहन्छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update