Kath khabar
रेमिट्यान्सले थेगेको शोधनान्तर स्थिती आयात बढेसंगै  खुम्चीन थाल्यो

काठमाडौं, वैशाख ३० । देशमा आउने रेमिट्यान्स बढेपनि घट्दो पर्यटन आम्दानी तथा वैदेशिक लगानीका कारण शोधनान्तर स्थिती अर्थात मुलुकबाट बाहिरिन विदेशी मुद्रा र भित्रिने रकमको अन्तरमा असर पुगेको छ । गत पुष मसान्तसम्ममा १ खर्ब २४ अर्बले बचतमा रहेको शोधनान्तर स्थिती अहिले ४२ अर्ब २४ करोडले बचतमा सिमित हुन पुगेको छ । बढ्दो आयात यसको प्रमुख कारणको रुपमा देखिएको छ ।  

गत चैत मसान्तसम्ममा मात्रै वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । यता निर्यात भने यहि समयमा ९४ अर्ब ७७ करोडको मात्रै भएको छ । वस्तु आयातका लागि बाहिरिने रकम बढ्दो छ । तर निर्यात तथा पर्यटन वापतको आयसँगै वैदेशिक लगानीमा कमि आएको छ, जसका कारण शोधनान्तर स्थिती घट्दै गएको हो ।

खुद सेवा आय ४९ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १ अर्ब ८ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत चैत सम्ममा भ्रमण आय ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत चैतसम्ममा भ्रमण व्यय ४७.० प्रतिशतले कमी आई २६ अर्ब ७५ करोड कायम भएको छ । यसमध्ये शिक्षाततर्फ व्यय २१ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५० अर्ब ४७ करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ६० करोड रहेको थियो ।

पर्यटन क्षेत्रबाट प्राप्त हुने आय ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ ।  जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको  भएको थियो  ।

यसैबिचमा प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ । जबकी गत वर्ष यस्तो लगानी १६ अर्ब ४८ करोड रहेको थियो । यद्यपि महामारीकै बिचमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ , जसले शोधनान्तर स्थिती घाटामा  जान अहिलेसम्म थेगेको छ ।

अघिल्लो वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update