Kath khabar
किशोरावस्थामा विवाह, एउटा असफल पारिवारिक जीवन

काठमाडौं, माघ २७। नेपालमा किशोरावस्थामा नै विवाह गरिदिने सामाजिक प्रचलन रहेको छ। किशोरावस्थामा आउने परिवर्तनले किशोर किशोरीहरुको विपरीत लिङ्गप्रति आकर्षण बढ्ने माया, सम्बन्ध र प्रेममा पर्ने, यौन चाहनाको विकास हुने हुन्छ । जसका कारण असुरक्षित यौन सम्पर्क, प्रेम विवाह, मागी विवाह तथा केटाकेटी पनि स्वइच्छाले मागेर विवाह गर्ने गर्दछन् ।

गाउँघरतिर अशिक्षाको कमीले गर्दा पनि प्रायः जसो सानै उमेरमा विवाह गरिदिने प्रचलन बढि नै पाइन्छ। कतिपय अवस्थामा परिवारका सदस्यले किशोरावस्थामा हुने परिवर्तन र विपरित लिङ्गीप्रतिको आकर्षणलाई नकरात्मक तरिकाले बुझिदिँदा र कतिपय अवस्थामा आफ्नै गल्तीले गर्दा पनि सानै उमेरमा विवाह हुने गरेको छ। अनि सानै उमेरमा विवाह गरेपछि गर्भवती हुने, पढाई छुट्ने र अत्याधिक कार्य बोझका साथै किशोरीहरू विभिन्न समस्या भोगिरहेका हुन्छन् । विवाहलाई नबुझी विवाह गर्दा उनीहरुको वैवाहिक जीवन असफल भैरहेको हुन्छ ।

किशोरावस्था शारीरिक र मानसिक पूर्णरुपमा विकसित नभईसकेको अवस्था हो। यस उमेरमा उनीहरु आफ्नो स्वास्थ्यको बारेमा सुसूचित हुँदैनन् । किशोरावस्थामै विवाह गर्नाले उनीहरूले आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन् ।

किशोरावस्थामा विवाह गर्दा आउने समस्याहरु
–    २० वर्षभन्दा कम उमेरमा किशोरीहरूको प्रजनन अंगहरु पूर्णरुपमा विकास भैसकेको हुँदैन ।
–    गर्भमा रहेको बच्चा र  आमाको स्वास्थ्यमा समस्या र ज्यानै जाने सम्भावना बढि हुने पाइएको छ ।
–    सानै उमेरमा विवाह हुने हुँदा आफ्नो र गर्भको बच्चाको हेरचाह गर्न सक्षम हुँदैन ।
–    गर्भपतन हुने, रगतको कमी भई रक्तअल्पता हुने, उक्त रक्तचाप, कुपोषण आदि हुन सक्छ ।
–    कम तौलको बच्चा जन्मने सम्भावना धेरै हुन्छ ।
–    पारिवारीक जिम्मेवारी वहन गर्न सक्षम नहुने हुन्छ ।
–    उच्च शिक्षा हासिल गर्ने र रोजगारी पाउने अवसरहरू समेत गुमाउनुपर्ने हुन सक्छ ।
–    सानै उमेरमा श्रीमान र त्यसपश्चात् बुबाको भूमिका निभाउन असक्षम हुन्छन् ।
–    बुबा बने लगत्तै पारिवारिक, सामाजिक, आर्थिक दायित्वहरु बढ्ने ।
–    मानसिक रुपमा तयार नहुने हुँदा पारिवारिक जीवन सफल हुँदैन ।    


 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update