Kath khabar
१२ वर्षे मकर मेला : आस्था विश्वास र अस्तव्यस्तता

काठमाडौं, माघ २८। परापूर्व कालदेखि नै सांस्कृतिक विविधता, तन्त्र मन्त्र, देवी देवताहरुको बासस्थान र तपोभूमि रहँदै आएको देश नेपाल र यस भित्र पनि ठाउँ विशेष अनुसारका रीतिरिवाज, धार्मिक आस्था, जात्रा, पर्व, मेला, मठ मन्दिरको विशेष महत्व अक्षुण रहि आएको छ।

यसै सन्दर्भमा प्रत्येक १२ वर्षमा लाग्ने काठमाण्डुदेखि नजिकैको प्राचीन शहर पनौतीको १२ वर्षे मकर मेला करिब करिब समापनतिर छ। सन् १९९६ बाट संयुक्त राष्ट्र संघ अन्तर्गत युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत यस पनौती शहर आफैं मा मौलिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको रहि आएको छ।

३ वटा नदिको त्रिवेणी (रोशी, पुण्यवती र लिलावती) मा स्नान गरि वरिपरि अवस्थित भगवान नारायण, बद्रीनाथ, केदारनाथ, गोरखनाथ, इन्द्रेश्वर सहित अन्य देवीदेवताको पूजा अर्चना गर्दा सम्पूर्ण पाप नष्ट भई ठूलो पुण्य कमाइन्छ भन्ने आस्था र विश्वास रहि आएको छ।

परापूर्व कालमा पाटन र पनौतीमा १२ बर्ष सम्म खडेरी परेर अनिकाल लाग्न थालेपछी पनौतीका राजा "दीर्घरथ" र काठमाण्डुका राजा "सायाबर" को फुलचोकी माईसँगको अनुनय र विनय पछि फुलचोकी माइ प्रसन्न भइ आधा पानी पनौतीतिर त आधा पानी गोदावरीतर्फ पठाइ खडेरी र अनिकालबाट बचाइदिनु भएपछि सोही बेला देखि नै प्रत्येक १२ वर्ष (पनौती र गोदावरी ६/६ वर्षको अन्तराल) मा सो मेला लाग्दै आएको किम्वदन्ती र जनश्रुति रहि आएको छ।

हामी नेपालीहरू जुनसुकै जात जाती, भाषा, रहन सहनका चाडपर्वहरु खुला हृदयले मनाउन पछि पर्दैनौ। हाम्रो काठ खबर टोली पनि पनौती मकर मेलाको उत्तरार्द्धतिर गत बिहीबार सो स्थानमा पुग्दा सुदूरपूर्वदेखि सुदूर पश्चिमसम्मका सहित मित्र राष्ट्र भारतका विभिन्न भेगबाट आउनु भएका भक्तजनहरुको बाक्लो उपस्थिति देखियो। आज हामी सो मकर मेलामा देखिएका केही बेथिती, विसङ्गति र अस्त व्यस्तता केलाउने जमर्को गर्दैछौँ।

बनेपा बजारबाट दक्षिण पनौतीतिर लाग्ने बित्तिकै शुरु हुने सवारी साधनको जामले पैदल यात्रु, स्थानीयबासी र भक्तजनहरुको मानसिकता हतोत्साही देखियो। मर्मत सम्भारको नाममा लामो समयदेखि अलपत्र उक्त सडकखण्डको धूलो, दुइवटा साना साना पूल को अपर्याप्त चौडाइ अनि अत्याधिक सवारी साधन र भक्तजनको ओइरोले ट्राफिक ब्यबस्थापनको चुनौति प्रष्टै झल्किन्थ्यो। सडक बिभाग, स्थानीय निकाय र प्रशासन आदिको अकर्मन्यता र दिर्घ सोचको कमिले १२ वर्षपछि आएको शुभ घडीमा समेत समान्य डाइभर्सन र स्थायी वा अस्थायी मर्मत सम्भारमा ध्यान नजानु उदेकलाग्दो बिषय रहेको छ।

अर्को मुख्य चुनौती सवारी साधनको पार्किङ्गमा पनि प्रष्टै देखिन्थ्यो। साँघुरो ठाउँ, अस्त ब्यस्त फूटपाथ बजार, आदिको ब्यबस्थापकिय कमजोरीले गर्दा एक डेढ किलो मिटर वरैबाट मूल सडकको छेउ मै गरिएको अलपत्र पार्किङ्ग र भएका केही स:शुल्क पार्किङ्ग क्षेत्रमा रुखो बोली सहित सामान्य दुई पाङ्ग्रे सवारी साधनको रु ५० पार्किङ्ग शुल्क असुलिँदा पनि सुशासनको दुहाइ दिने प्रशासन यन्त्रको छायाँ कतै पनि नदेखिनु आफैँमा उदेक लाग्दो बिषय हो।

मनलाग्दी रूपमा खुला राखिएका खाद्य सामग्री, चर्को मूल्य (सामान्य अवस्थामा १५० रुपियाँ पर्ने खाजा नास्ता अहिले ४०० देखि ५०० रुपियाँ) आदि सहित पैदल भक्तजनहरु हिँड्ने बाटो मै भिख माग्न बसेका मगन्तेहरु देख्दा मन खिन्न हुनु स्वभाविक नै हो। सामान्य खाजा आलुको तरकारी, चना, केराउ आलुको झोल, अचार, मस्यौराको तरकारी, सानो कपको दहि, पुरी, जेरिको मूल्य ४५० देखि ५०० सम्म असुल्दा व्यापारी हरुमा "मौका यहि त हो" भन्ने मानसिकता हाबी देखियो।

वर्षमा एक दुई पटक तामझाम सहित बजार अनुगमनमा निस्किने आपूर्ती मन्त्रालय र खाद्य तथा गुण नियन्त्रण बिभाग, निद्राबाट अझै नब्युँझिएको आभाष हरेक भुक्तभोगीले गरेका छन्। मन्दिर ब्यबस्थापन समिती, मेला ब्यबस्थापन समिती, राजनैतिक पार्टीहरु, स्थानीय क्लबहरुका स्वागतद्वार र सूचनापाटी प्रशस्तै देखिएपनि स्वयं सेवक र सुरक्षाकर्मी को उपस्थिति नगन्य रहेको पाइयो।

भक्तजनहरुमा पनि तुलनात्मक रूपमा पुरुषभन्दा महिलाको उपस्थिति बाक्लो रहेको यस मेलामा स्नान क्षेत्रमा लुगा फेर्नको लागि कुनै सुबिधा नहुनु, स्नान क्षेत्र मै गएर महिलाहरु नुहाएको दृश्य आफ्नो मोबाइलले खिचेर सामाजिक सन्जालमा हँसी मजाक गर्ने बिकृत मानसिकताका युवा जमातलाई सहायता कक्षबाट माइक मार्फत त्यसो नगर्न अनुरोध गर्ने बाहेक कुनै कारबाही प्रशासन र स्वयं सेबकबाट नहुँदा भक्तजनहरुमा अलिकती खिन्नता पाइयो।

पाकेट्मार र चोरको बिग बिगि मेलाको सुरुवाती दिनबाटै भएपनि एक महिने मेला समापनतिर आइपुग्दा पनि त्यस्ता घृणित कार्यहरु नियन्त्रणमा नआउँदा आफ्ना नगद, गर गहना, मोबाइल हराएका भक्तजनहरु न्याउरो अनुहार लिएर फर्किँदाको क्षण सारै नमिठो देखियो।

मूल मन्दिरमा पूजा आजा गर्न लागेको अब्यबस्थित लाइन, भिडभाड र ठेलम ठेल देख्दा, सायद कोरोना त सरकार र प्रशासनलाई मात्र लागेको हो कि  र साथसाथै प्रशासनको सूचनाको खिल्ली उडेको हो कि भन्ने भान हुन्छ। लाखौँ भक्तजनहरुको दैनिक आवतजावत हुने स्थानमा पर्याप्त शौचालयको ब्यबस्था नहुनु, भएको पनि अत्यन्तै दुर्घन्धित र फोहोर हुनु ( केही निजि स शुल्क बाहेक) आदिले गर्दा भक्तजनहरुमा नैराश्यता छाउनु स्वभाविक नै मान्नु पर्दछ।

अबको ६ वर्षपछि हुने गोदावरीको १२ वर्षे मेला वा अबको १२ वर्षपछि हुने पनौतीकै मेला र यस्ता अन्य कैयन मेला, जात्रा, पर्वहरु आदिको लागि पूर्व तयारीका ठोस योजनाहरु र ब्यबस्थापकिय संयन्त्रको बारेमा समय मै सोच्ने कि सम्बन्धित निकायले भन्ने प्रश्न आम जन मानसमा रहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update