Kath khabar
यसरी गर्नुस् मुख र दाँतको हेरचाह

काठमाडौं, फागुन १। मानिसको स्वास्थ्यमा मुख र दाँतको स्वास्थ्यको महत्त्वपूर्ण स्थान हुन्छ। शरीरको अंगहरु मध्ये मुख र दाँतको समस्या भर्खरको केटाकेटिदेखी लिएर बुढाबुढीसम्मलाई भएको पाईन्छ ।

मुख र दाँत स्वच्छ राख्नसके सम्पूर्ण शरीर स्वस्थ राख्न मद्धत पुग्छ । मुख सम्बन्धी समस्याहरु जीवनकै लागि पनि खतरापूर्ण हुन सक्छन् यसले जीवनको गुणस्तरमा नै प्रतिकुल असर पार्न सक्छ । बालबालिकाहरु दाँतको समस्याको कारण खेल्न, सुत्न, स्कूल जान नसक्ने पनि हुनसक्छन् । मुखको स्वास्थ्यको प्रवर्द्धनका लागि प्रभावकारी स्वास्थ्य शिक्षा र रोकथामको उपायहरु अपनाउन अति जरूरी छ । विशेष गरी नयाँ खानपानका बानीहरु सिक्दै बढ्दो सहरिकरण र खानामा आएको परिवर्तनले गर्दा साना बालबालिकाहरुलाई मुखको स्वास्थ्यका बारेमा सिकाउनु अत्यन्त आवश्यक भएको छ ।

दाँत माझ्दा राम्रो खालको ब्रसले तलमाथी गर्दै गिजामा असर नपर्ने गरी माझ्नु पर्दछ। सकभर फ्लोराइडयुक्त मन्जनको प्रयोगले दाँतलाई बलियो बनाउन मद्धत गर्दछ । दन्तमन्जन नपाएमा धुलो नुन र तोरीको तेल मिसाएर पनि माझ्न सकिन्छ खासगरी हाम्रो स्थानीय स्तरमा यी चीजहरु पनि उपयुक्त छन् जस्तै दतिउन, बास र नियालो, निमको काठको खरानी ।

हामीले नियमित रुपमा दाँत सफा गर्ने र खानेकुरामा ख्याल गरेनौ भने दाँत किराले खाने ब्याक्टेरिया बढ्दै दाँतको बाहिरी सतह हुँदै बिस्तारै दाँतको भित्री भागमा फैलिन्छ। मुखमा हुने किटाणुहरुले दाँतलाई मात्र असर पर्ने होइन गिजाको रोग ल्याउने श्वास गन्हाउने समस्या पनि ल्याउछ । लामो समयसम्म दन्त लेउ नहटाईएमा यो दन्त पत्थर बन्दछ। दन्त पत्थरलाई दन्त लेउजस्तै ब्रशले माझेर हटाउन सकिन्छ । दन्त पत्थरले दाँत सफा राख्न गाह्रो हुन्छ र अरु दन्त त्यसमाथि थपीदै जान्छन् यसले गिजाबाट रगत आउने, गिजा रातो हुने सुनीने, श्वास गन्हाउने गिजाबाट पीप आउने हुन्छ । धेरैजसोलाई दाँतमा खाना अड्किने समस्या हुन्छ।

खाएको खानेकुरा त्यहीं कुहिएर मुख गन्हाउने हुन सक्छ। यस्तो अवस्थामा खाना खानेबित्तिकै राम्रोसँग कुल्ला गर्ने, डेन्टल फ्लस वा इन्टर डेन्टल ब्रस प्रयोग गरी दुई दाँतबीचको फोहोर निकाल्नुपर्ने हुन्छ । हामीहरुले नियमित मुख र दाँतको स्वास्थ्य परीक्षण गराउनु पर्दछ । फ्लोराईडयुक्त मन्जनको प्रयोग गर्न अति जरूरी छ । त्यसैले मन्जन किन्दा जहिले पनि १००० पी.पी फ्लोराईड लेखिएको मन्जन किन्नु पर्दछ।

जसरी बलियो रुख हुन जरा वरीपरी धेरै माटो चाहिन्छ त्यसरी नै दाँत बलियो हुन दाँतको जरा वरीपरी स्वस्थ गिजा राख्न ताजा सागपात तथा फलफुलहरु खाने जस्तै पान, सुपारी, सुर्ती, खैनी, चुरोट, रक्सी, आदि बानिबाट टाढै रहनु उचित हुन्छ । यस्तै स-साना कुराहरुमा ध्यान दिए हामी मुख र दाँतको रोगहरुबाट बच्न सक्नेछौ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update