Kath Khabar
शेयर बजार रातै, एकै दिन एक सय अंकले घट्दा लगानीकर्ताहरु निराश

काठमाडौं, फागुन १ । शेयर बजार घटेर रातै भएपछि लगानीकर्ताहरू निराश भएकाछन् । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से एक सय एक दशमलव २४ अंकले घटेर २७ सय दशमलव ३२ अंकमा खुम्चिएको छ भने सेन्सिटिभ पनि १५ दशमलव ६२ अंकले घटेर पाँच सय ११ दशमलव ६६ अंकमा खुम्चिएको छ । दुई सय २७ वटा कम्पनीहरूको ८१ हजार आठ सय ३७ पटकको कारोबारमा एक करोड १६ लाख ६१ हजार छ सय ३९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कारोबार रकम पाँच अर्ब ९७ करोड ७२ लाख ७४ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेपनि शेयर बजार पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये नबिल ब्यालेन्स फन्ड ३, सनराइज म्युचुअल फन्ड, गुराँस लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने अपरतामाकोसी हाइड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, वीन लघुवित्त वित्तीय संस्था आदि बढी गुमाउने कम्पनीहरूको सुचीमा परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपरतामाकोसी हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेकाछन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update