Kath khabar
किन मनाईन्छ भ्यालेन्टाइन डे ?

काठमाडौं, फागुन २। आज प्रेम दिवस (Valentines Day) अर्थात प्रणय दिवस। हरेक वर्ष फेब्रुअरी १४ का दिन विश्वभर यो दिवस मनाइन्छ। विशेषगरी युवायुवतीले आजको दिनलाई माया साट्ने विशेष अवसरका रुपमा मनाउने गरेका छन् । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेम साटासाट गर्ने तथा आफ्नो मनपर्ने व्यक्तिलाई विभिन्न उपहार दिई मनाइन्छ । नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ ।

मनले मन पराएको मान्छेलाई प्रेम गर्नु नराम्रो होइन। तर अहिले प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ। प्रेम दिवस भन्दैमा जोकोहीलाई जबरजस्ती प्रेम प्रस्ताव राखेर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी हुन्छ । मायाको नाममा दुर्व्यवहार तथा बलजफ्ति गरेर पाएको माया कदापि माया हुन सक्दैन, त्यो अपराध हो, अपमान हो । भनिन्छ प्रेम गर्नको लागि कुनै खास दिनको जरुरत पर्दैन । माया त हरेक दिन गरिन्छ/गरिनुपर्छ। अहिलेको समयमा भर्खरका युवायुवतीदेखि लिएर वृद्ध उमेर समुहका मानिसहरु सबैले मनाउने यो प्रेम दिवस आखिर कहाँबाट कसरी शुरु भयो त जानौं ।  

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । भ्यालेन्टाइन डे सेन्ट भ्यालेन्टाइनको नाममा राखिएको थियो । यसको इतिहासको बारेमा सायद कमलाई नै  थाहा छ होला । सेन्ट भ्यालेन्टाइन एउटा साधारण पास्टर थिए । करिब 300AD तिर युरोपको रोम त्यो समयमा पुरै दुनियाँमा नै एउटा शक्तिशाली साम्राज्य मानिन्थ्यो । त्यतिबेला रोमको राजा क्लाउडियस २ थिए , जो एक जिद्दी र निर्दयी किसिमका राजा थिए । एकदिन राजाले आफ्नो राज्यको विश्लेषण गर्दा यो थाहा पाए कि विवाहित भन्दा अविवाहित युवकहरु ताकतबर र जोशिला छन् भनेर । त्यसैले राजाले आफ्नो सभामा एउटा निर्णण् सुनाए कि मेरो राज्यमा अब उपरान्त युवकहरुले विवाह गर्न पाउने छैनन् भनेर ।  त्यसैले यस्तो निर्णय सुनेपछि राज्यका मानिसहरु दुखित भए तर राजाको आदेश मान्नलाइ उनीहरु बाध्य थिए ।

त्यसै राज्यमा एक क्याथोलिक पादरी पनि थिए, जो प्रेममा विश्वास गर्दथे । उनैको नाम थियो सेन्ट भ्यालेन्टाइन । राजाको त्यो निर्णय उनलाई कत्ति पनि मन परेन त्यसैले उनले मनमनै युवाहरुलाई जसरी भएपनि विवाह गर्न प्रेरित गर्ने अठोट लिए । तर पछि यो कुरा राजाले थाहा पाए । त्यसैले राजाले सेन्ट भ्यालेन्टाइनलाई गिरफ्तार गर्न आदेश दिए । जब सेन्ट भ्यालेन्टाइन जेलमा थिए त्यस समयमा एउटा जेलरकी छोरी जो अन्धी थिईन् उनले सेन्ट भ्यालेन्टाइनलाई सधै भेट्ने गर्थिन् । त्यही क्रममा सेन्ट भ्यालेन्टाइनलाई उनीसँग प्रेम बस्यो । केहि दिनपछि सेन्ट भ्यालेन्टाइनलाई फाँसीको सजाय दिईयो । तर त्योभन्दा अगाडि सेन्ट भ्यालेन्टाइनले प्रेम गरेका ति अन्धी युवतीलाई एउटा प्रेमपत्र दिएका थिए जुन पत्रमा फ्रम योर भ्यालेन्टाइन (From Your Valentine) भनेर लेखिएको थियो ।

सेन्ट भ्यालेन्टाइनले मृत्युलाई अंगाले तर प्रेमलाई त्यागेनन् । त्यसैले त्यसदिनबाट १४ फेब्रुवरीलाई भ्यालेन्टाइन डे रुपमा मनाउन थालियो । भ्यालेन्टाइन डे भनेको प्रेम दिवस हो । यो जरुरी छैन कि यो दिन आफ्नो लभ पार्टनरसँग मात्र मनाइयोस् भनेर । आफूले प्रेम गर्ने जो नजिकको व्यक्ति छ आफ्नो बुबाआमादेखि लिएर साथीभाईहरु सबैसँग भ्यालेन्टाइन डे मनाउन सक्छौं ।

 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update