काठमाडौं, फागुन २। फागुन तीन गते अर्थात भोलि मंगलबार नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार चार वर्षे अवधिको विकास ऋणपत्र २०८२ “च” बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले फागुन तीन गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्नेछ छ । निष्कासन मिति २०७८ फागुन चार गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८२ फागुन चार गते तोकिएको छ भने खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ। खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरूपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा व्याजकर समेत लाग्नेछ ।
राष्ट्र बैकका अनुसार उक्त ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।
खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ ।