इटाली, वैशाख ३० । भेट्रान गोलकिपर बुफनले पेनाल्टि बचाएपछि युभेन्टसले इटालियन लिग सिरीयामा सासोलोलाइ तीन एक गोलले पराजित गरेको छ ।
यो सिजनको सामाप्ती संगै युभेन्टस छोड्ने घोषणा गरेका ४३ वर्षिय बुफनले घरेलु टोलीको पेनाल्टि विफल पार्दै अग्रता लिन बाट रोक्नु भएको थियो । सासोलोका डोमिनिको बरार्दीले पेनाल्टि प्रहार गर्नुभएको थियो । २८ औं मिनेटमा एड्रियन रोयिबोटले युभेन्सको खाता खोल्नु भयो । ४५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अग्रता दोब्बर पार्नुभयो । क्लबका लागि रोनाल्डोको यो एक सयौं गोल हो । ५९ औं मिनेटमा सासोलोका जाकोमो रास्पाडोरीले युभेन्टसंगको दुरी दुइ एकमा झार्नुभएको थियो । तर ६६ औं मिनेटमा पाउलो डिबालाले गोल गरेसंगै युभेन्टसले तीन एकको जीत हात पार्यो ।
पछिल्लो नौ सिजन एकछत्र राज गरेको युभेन्टसले यो पटक उपाधी गुमाइसकेको छ । युभेन्टस अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन संघर्ष गरिरहेको छ । पाँचौं स्थानमा रहेको उसको ३६ खेलबाट ७२ अंक छ । इन्टर मिलान लिग च्याम्पियन बनिसकेको छ ।