
काठमाडौं, फागुन २। अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा आज सोमबार भने सुधार देखिएको छ । नेप्से आज शून्य दशमलव शून्य आठ अंकले बढेर २७ सय दशमलव ९८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ३६ अंकले घटेर पाँच सय १३ दशमलव ३० अंकमा खुम्चिएको छ । दुई सय २७ वटा कम्पनीहरुको ४९ हजार आठ सय ८२ पटकको कारोबारमा ७५ लाख ४९ हजार सात सय ७९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कारोबार रकम तीन अर्ब ६८ करोड ४० लाख नौ हजार नौ सय १५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष सहितका पाँच वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र लघुवित्त सहितका सात वटा समुहहरूको सूचक बढेकाछन् । लगानी समुहको सूचक भने आज स्थिर देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने मैलुङ खोला जलविद्युत कम्पनी, एनआईबिएल समृद्धि फन्ड २, प्रिमियर इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज नेशनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, अपी पावर लिमिटेड आदि परेकाछन् ।