Kath khabar
पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण


पनौती , फागुन २।  पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । 

जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर कार्यपालिकाले गरेको थियो । बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिना अघिमात्र सुरु भयो । 

तीन महिनामा नसकिएका काम अहिले पनि मकर मेला लाग्ने त्रिवेणीघाट वरपरको नदी किनारमा अझै अलपत्र छ । यस क्षेत्रमा नगरपालिकाले ढुङ्गा विच्छ्याउने काम सुरु गरेकामा नसकिएर अझै खाली भुइँ देख्न सकिन्छ । किनारमा थुपारिएका ढुङ्गामा अल्झिएर कयौँ भक्तजन पछारिए । कतिलाई सामान्य चोटपटकसमेत लागेको तीर्थ यात्री रञ्जना तिमल्सिनाले बताउनुभयो । 

नगरपालिकाले दुई वर्ष अघिदेखि रु आठ करोड ३५ लाख मेलाका लागि संरचना निर्माण खर्च गरेको छ । यसमध्ये रु सात करोड आठ लाखको पूर्वाधार निर्माण खर्च गरिएको नगरप्रमुख भीम न्यौपानेले राससलाई जानकारी दिनुभयो । रु एक करोड २७ लाखको भने रङरोगन एवं मन्दिरलगायत सांस्कृतिकस्थल मर्मत सम्भारको काम गरिएको थियो ।
 
माघ १ गते मेला सुरु भएपछि ढुङ्गा छाप्ने र रङ लगाउने काम सुरु गरियो । मेला सुरु भएपछि थालिएका यी काम अझै पूरा भएका छैनन् । नदीमा स्नान गर्न राखेको बाँस माघमा पानी परेर बाढी आउँदा बगाएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका परामर्शदाता इञ्जिनीयर सितु सैँजुले बताउनुभयो । पहिलेदेखि नै निश्चित हुने मेलाको तयारीमा यस्ता कमजोरी भएको पनौतीवासीको गुनासो छ । 

नगरपालिकाले व्यवस्थापन गरेको मेलाका समयमा कोरोनाका कारण विद्यालय बन्द गरिएको थियो । पनौती बजारको श्री पनौती आधारभूत विद्यालयका विद्यार्थीले भने माघभर विद्यालयमै खाजा घर चलाए । यस क्रमममा करिब रु तीन लाख आम्दानी भएको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकार शैक्षिक भ्रमण जान विद्यालयमै खाजा घर चलाउनुपरेको बताउनुहुन्छ । 

आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी साना हुन्छन् । तिनलाई प्रयोग गरेर विद्यालयले व्यापार गर्दा पनि नगरपालिका मौन छ । विसं २०७४ मा राज्य पुनःसंरचना भएपछि माध्यमिक तह कक्षा १२ सम्मका विद्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई नै दिइएको छ । मेला व्यवस्थाका लागि नगरपालिकाको सचिवालयका संयोजकसमेत रहनुभएका वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी मेलाका लागि विद्यालय बन्द गर्ने तयारी गरेकामा कोरोनाकै कारण सरकारले विद्यालय बन्द गरेको स्वीकार गर्नुहुन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update