काठमाण्डौं, वैशाख ३० । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि ललितपुर सिटी एफसी र काठमाण्डौं रेजर्स भिड्दैछन् । खेल साँझ साढे पाँच बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
लिग चरणको उद्घाटन खेलमा यी दुइ टिमको भेट हुँदा काठमाण्डौंले एक शुन्य गोलले बाजी मारेको थियो । ललितपुर दोस्रो चरण पछि लयमा फर्किएको टिम हो । बुधबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई एक शुन्य गोलले पराजित गर्दै ललितपुरले दोस्रो क्वालिफार्यसमा स्थान बनाएको हो । सो खेलमा टिमका कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
पर्याप्त विश्रामको अभावमा ललितपुरले उपाधीको बलियो दाबेदार टिम काठमाण्डौं रेजर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । तर आफ्नो बेञ्च बलियो रहेकाले यसमा खासै चिन्ता मान्नु नपर्ने ललितपुरका प्रशिक्षक राजु तामाङले पोष्ट म्याचमा बताएका छन् । ललितपुर पहिलो खेलमा ब्येहोरेको हारको बदला लिन चाहन्छ । खेल अघि काठमाण्डौंले दुइ दिन विश्राम पाएको छ ।