Kath khabar
"कृषिमा आधारित ग्रामीण अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ"


विराटनगर , फागुन ३।   ग्रामीण क्षेत्रको अर्थतन्त्रसंग जोडिएर आउने कृषि, पशुपालन, कृषि पर्यटन, घरेलु तथा साना उद्योग, व्यापारबाट निर्मित ग्रामीण अर्थतन्त्रलाई आधुनिकीकरण गर्दै दीर्घकालिन संरक्षणमा कृषि यान्त्रिकीकरणको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । 

मोरङको लेटाङ नगरपालिकाद्वारा आज लेटाङमा आयोजित विकास निर्माण र शान्ति सुरक्षामा सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताउनुभएको हो । उनीहरुले ग्रामीण क्षेत्रमा अहिले जे जस्ता समस्याहरु देखिएका छन्, त्योभन्दा बढी अवसरहरु पनि रहेका छन् भन्दै स्वस्थ र सरल जीवनशैली युक्त ग्रामीण परिवेशलाई आधुनिक प्रविधि, कृषि मैत्री पूर्वाधार विकास, कृषिमा विविधीकरण र कृषि पर्यटनको माध्यमबाट अझ आकर्षक बनाउन सकिने बताउनुभयो । 

“सहरी अर्थतन्त्र सङ्कट पर्दा सम्झना गरिने ग्रामीण क्षेत्रलाई युगौंयुग बचाई राख्न कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई समयानुकूल सुधार गर्न, कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न आधुनिक कृषि विज्ञानलाई आत्मसात गर्दै कृषिको आधुनिकीकरण, बिस्तार, आवश्यक ज्ञान सीप र तालिमको व्यवस्था गर्नुपर्छ”, उनीहरुले भन्नुभयो, “कृषि उपज÷बस्तुको खरिद–बिक्री र ग्रामीण रोजगारीको व्यवस्थापन गर्दै जानु अहिलेको आवश्यकता हो ।”    

उनीहरुले लेटाङमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेपनि कोभिड–१९ ले विकास प्रतिकूल प्रभाव पारेको उल्लेख गर्दै यहाँका ८० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेकाले कृषिलाई आधुनिकीकरण र विविधीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विराटनगरदेखि ४९ किमी उत्तरमा रहेको लेटाङ नगरपालिका सरदर २१९ वर्ग किमीमा फैलिएको र पहाडी क्षेत्र भएकाले यहाँ पशुपालन र तरकारी खेतीका लागि उर्बराभूमि रहेको छ । निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनका लागि शान्ति सुरक्षामा खटिएका प्रहरीलाई पहाडी क्षेत्रसम्म जान सक्ने सवारी साधनको आवश्यकता रहेको औँल्याउँदै उनीहरुले लेटाङमा ७७ दशमलव २२ प्रतिशत जनता साक्षर छन् ।  

यहाँ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या देखिए पनि अहिलेसम्ममा नगरपालिकाले रु २४ करोड ६० लाख राजस्व सङ्कलन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । उहाँले नगरका चार हजार ८६१ नागरिकले जग्गा धनीपुर्जाका लागि आवेदन दिएको जानकारी दिँदै लेटाङ पर्यटकीय, जडीबुटी, तरकारी खेती, अदुवा, अलैँची, अम्रिसो, पशुपालन, सुपारी खेतीजस्ता क्षेत्रमा अग्रनी रहेकाले यसको विकास र विस्तार गरी समृद्धितर्फको यात्रामा आगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । 
    
    स्थानीयवासी अग्नि पौडैल, कमल राई, बालकुमार श्रेष्ठ, किशोर चामलिङ राईलगायतले लेटाङमा नेपाली नागरिकताको प्रमाणपत्र बितरणमा समस्या देखिएको बताउँदै कृषि, वन, शिक्षा, स्वास्थ्य, नदी तटबन्धन, उद्यम विकास र विद्युत्मा देखिएको समस्या समाधानका लागि सम्बन्धीत पक्षसँग आग्रह गर्नुभयो । 

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सेवा प्रवाहको सन्दर्भमा तोकिएको जिम्मेवारी पूरा गर्न कर्मचारीलाई निर्देशन दिँदै शान्ति सुरक्षाको सवालमा देखिएको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई सुरक्षित, धाँधलीरहित, निष्पक्ष एवं पारदर्शी बनाउन सबै राजनीतिक दलको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै प्रविधिको विकाससँगै मानिसमा अनुशासन आउने कुरामा जोड दिनुभयो ।

    लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले कोरोना भाइरस सङ्क्रमण र भोकबाट जनतालाई बचाउन हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै लेटाङमा फुसको छानो हटाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लेटाङ नजिकै रहेको चिस्याङ नदीबाट वर्षेनी हुने कटान र डुबानबाट बचाउन सरकारले प्रयाप्त बजेटको व्यवस्था गर्नुपर्ने माग गर्दै बेमौसमी वर्षा र बाढीबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
    
नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङको विकास र समृद्धिका लागि कृषि अर्थतन्त्रमा जोड दिनुपर्ने उल्लेख गर्दै अर्गानिक र पर्यावरणमैत्री ग्रामीण क्षेत्रका कृषि उपजहरुको बजारीकरणका लागि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा कोशी बक्रहा नदी व्यवस्थापन आयोजनाका प्रमुख कैलाश श्रेष्ठ, डिभिजन वन कार्यालयका प्रमुख अनिरुद्र साह, कृषि ज्ञान केन्द्रका रामदेव साह, जनस्वास्थ्य प्रमुख डा सुरेश मेहता, पशु चिकित्सक सुशील अधिकारीले प्रतिस्पर्धी जलवायु अनुकूल आत्मनिर्भर एव निर्यातमुखी उद्योगको रूपमा कृषि क्षेत्रलाई रूपान्तरण गर्न सकेमा समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update