मुम्बई, फागुन ४। भारतका वरिष्ठ गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ ।
बप्पी लहिरी जसलाई फिल्मी उद्योगमा बप्पी दा भनिन्थ्यो, उहाँ अबस्ट्रक्टिभ स्लीप एपनिया (OSA) नामको रोग तथा छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो। यही गम्भीर समस्याका कारण बप्पी दा २९ दिन अस्पतालमा भर्ना हुनुभएको थियो। फेब्रुअरी १५ मा निको भएर उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर अस्पतालबाट डिस्चार्ज भएको एक दिनपछि उहाँको स्वास्थ्य फेरि बिग्रिएर पुनः अस्पताल ल्याइएको थियो।
बप्पी लहरी करीब ७० को दशकमा बलिउडमा प्रवेश गर्नुभएको थियो । बलिवुडमा ७० देखि ८० को दशकसम्म उहाँकै गीत मात्रै गुन्जियो । उहाँको संगीत र गीत जताततै थियो । बप्पी लहरी जहिले पनि सुनको चेनले भरिएको गेटअप गर्न रुचाउनुहुन्थ्यो । उहाँको शैली र लुक जति फरक थियो त्यति नै उहाँको संगीत शैली पनि फरक थियो ।