
काठमाडौं, फागुन ४। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । संस्थाले यही फागुन ११ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
बिक्री प्रर्वद्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको संस्थाको शेयर बिक्री कार्य छिटोमा यही फागुन १५ गते र ढिलोमा यही फागुन २५ गते बन्द हुने छ । बिक्री गरिने कुल शेयर मध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात १२ हजार सात सय ५० कित्ता संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात ४१ हजार चार सय ३७ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी सात लाख ७४ हजार पाँच सय ६३ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जानकारी दिएको छ ।
खरिदकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । साधारण शेयर जारी गरेपश्चात् भने संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ नै पुग्ने छ ।