काठमाडौं, फागुन ४। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको बीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार के.सी.ले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम “क्यूआर को गुन, एक तोला सुन” अन्र्तगत एक तोला सुन उपहार प्राप्त गर्नु भएको छ ।
बैंकको आदर्शनगर शाखामा यही माघ २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता राजु कुमार के.सी.लाई हस्तान्तरण गर्नुभएको थियो । सो हस्तान्तरण कार्यक्रममा बैंकका सिटी अफिस बीरगञ्ज शाखाका शाखा प्रवन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रवन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उपहार विजेता राजु कुमार के.सी.ले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरुप सुन पाउँदा आफुलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने कुरा व्यक्त गर्नुभयो । त्यसैगरि नेपाल बैंक लि.का मधेस प्रदेश कार्यालयका प्रमुखश्री शिबराम मिश्रले उपहार बिजेतालाई बधाई दिंदै नेपाल बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या दिनप्रतिदिन उल्लेख्यरुपमा बढ्दै गएको जानकारी गराउदै प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको बताउनु भयो ।
नेपालभर २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउन्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको नेपाल बैंक आज नेपालको स्वस्थ र सबल बैंकको रुपमा अगाडि बढिरहेको छ । पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तिब्र रुपमा व्यवसाय बिस्तार गर्न सफल बैंक प्रतिको विश्वासको कारण नेपाल बैंक सबै पुस्ताका नेपालीहरुको प्रमुख रोजाइको बैंक बन्न पुगेको दावी बैंकले गरेको छ ।