पोर्चुगल, वैशाख ३० । युएफा च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने भएको छ ।
युरोपेली फुटबल महासंघ युएफाका एक स्रोतका अनुसार युरोपेली प्रतियोगिताको फाइनल खेल पोर्चुगलको पोर्टो हुने पक्का भइसकेको रोयर्टसले उल्लेख गरेको छ । इंग्लीस च्याम्पियन म्यान्चेष्टर सिटी तथा चेल्सी बिचको खेल आगामी मे २९ मा हुनेछ । यस अघि टर्कीको इस्तानबुलमा प्रतियोगिता आयोजना तय भएको थियो तर कोरोना भाइरसको दोस्रो भ्यारियन्टको लहर देखिन थालेपछि खेललाई पोर्चुुगलमा सारिएको हो ।
बेलायत सरकारले पनि टर्कीलाई रेड लिष्टमा राखेको छ । यस अघि वेम्बले रंगशालामा गर्न बेलायतले राखेको प्रस्ताव भने युएफा अस्वीकार गरेको थियो । अब सम्झौता अनुसार २०२३को च्याम्पियन्स लिगको फाइनल भने इस्तानबुलमा हुनेछ । पोर्चुगल र बेलायत बिचको बोर्डर आगामी मे १७ बाट खुल्ने छ । कोरोना भाइरस नियन्त्रणमा आएसँगै पोर्चुगलले बिस्तारै लकडाउन खोेल्न थालेको छ । आगामी मे १७ बाट लकडाउन हट्ने बताइएको छ । गत वर्ष पनि प्रतियोगिताको सेमी फाइनल देखि फाइनलसम्मका सबै खेल पोर्चुगलको लिस्बोनमा भएको थियो ।