काठमाडौं, फागुन ५। काठमाडौंको बालाजु गंगाहल अगाडी आज बिहान ६ बजे मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा रसुवा घर भई हाल काठमाडौंको मनमैंजु बस्दै आउनुभएका १८ वर्षीय विकास तामाङ र ५० वर्षीया महिला हुनुहुन्छ । पैदलयात्रुलाई ठक्कर दिएर मिनिबस फरार भएको छ ।
ब्रिटिस आर्मी बन्ने सपना बोकेर गोरखा वारियर्स ट्रेनिङ्ग सेन्टरमा ट्रेनिङ्गको क्रममा रहनु भएका विकास तामाङ घरबाट ट्रेनिङ सेन्टर आउने क्रममा उक्त बसले ठक्कर दिएको हो। बसले पहिला बुढी आमालाई ठक्कर दिएको र पछि सडकको साइडमा नै हिडिरहनु भएका विकासलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मिनिबसको ठक्करबाट घाईते हुनुभएका उहाँहरुको उपचारका क्रममा टिचिङ्ग अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । बुढी आमाको भने अहिलेसम्म सनाखत हुन सकेको छैन ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार ठक्कर दिने मिनिबस फरार रहेको छ। नम्बर खुल्न सकेको छैन् । प्रहरीका अनुसार गोगंबु बस काउन्टरमा उक्त समयमा छुटेका बसहरुको जानकारी लिएर सोधपुछ हुँदैछ ।
चालकको लापरवाहीले भएको यस्तो दुर्घटना काठमाडौंका सडकमा प्रायः दिनहुँजसो घटिरहेका छन् । बुधबार बिहानपनि बालाजुमा ट्याक्टरको ठक्कबाट एक जनाको मृत्यु भएको थियो ।