Kath khabar
३ आर्थिक वर्षमा ५४ खर्ब २३ अर्बको बजेट

काठमाडौं, फागनु ५ । राष्ट्रिय योजना आयोगले तीन आर्थिक वर्षको लागि ५४ खर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको बजेट प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिको लागि ५४ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ बजेट हुने अनुमान गरिएको हो ।

आयोगले आफ्नो नियमित काम अन्तर्गत मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपण (एमटिइएफ) अन्तर्गत उक्त आकारको बजेट प्रक्षेपण गरेको हो । उक्त बजेट मध्ये चालु खर्च २१ खर्ब ३४ अर्ब ४२ करोड ५५ लाख रुपैयाँ, पुँजीगत खर्च १३ खर्ब ५६ अर्ब ९३ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ सात खर्ब नौ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बाँडफाँड हुने अनुमान गरिएको छ ।

त्यस्तै उक्त अवधि तथा बजेटमा स्रोत परिचालनतर्फ राजस्वबाट ३६ खर्ब एक अर्ब दुई करोड छ लाख रुपैयाँ, वैदेशिक अनुदान एक खर्ब ६५ अर्ब ११ करोड ९९ लाख रुपैयाँ, वैदेशिक ऋण आठ खर्ब ९० अर्ब ६८ करोड ८७ लाख रुपैयाँ र आन्तरिक ऋणबाट सात खर्ब ६६ अर्ब ९० करोड रुपैयाँ व्यहोरिने बताइएको छ । चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट निर्माण गरिएकोमा आगामी आर्थिक वर्ष २०७९/८० को लागि भने १७ खर्ब ९३ अर्ब १० करोड रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ को लागि १९ खर्ब ९७ अर्ब ८० करोड रुपैयाँको बजेट हुने आयोगको प्रक्षेपण रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को लागि चालु खर्च छ खर्ब ९६ अर्ब ४३ करोड रुपैयाँ, पुँजीगत खर्च चार खर्ब ४७ अर्ब ७१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ४१ अर्ब १९ करोड रुपैयाँ बाँडफाँड हुने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि चालु खर्च सात खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, पुँजीगत खर्च पाँच खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७९ अर्ब १८ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

यसरी प्रत्येक आर्थिक वर्षलाई हेर्ने हो भने चालु, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ विनियोजित बजेट दोहोरो अंकमा नरहेको पाउन सक्छौं । तर, समष्टिगत रुपमा हेर्दा भने दोहोरो अंकमा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा स्रोत परिचालनतर्फ  राजस्वबाट  ११ खर्ब ८३ अर्ब ४० करोड रुपैयाँ, वैदेशिक अनुदान ५५ अर्ब २० करोड रुपैयाँ वैदेशिक ऋणबाट दुई खर्ब ९० अर्ब रुपैयाँ र आन्तरिक ऋणतर्फ भने दुई खर्ब ६४ अर्ब ५० करोड रुपैयाँ हुने आँकलन गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा स्रोत परिचालनतर्फ राजस्व, वैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणमा वृद्धि हुने बताइएको छ। जसअनुरुप उक्त आर्थिक वर्षमा स्रोत परिचालनतर्फ राजस्वबाट १३ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ५० अर्ब रुपैयाँ, वैदेशिक ऋणबाट तीन खर्ब १७ अर्ब ६० करोड रुपैयाँ र आन्तरिक ऋणबाट दुई खर्ब ६३ अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने आँकलन गरिएको छ ।

उक्त वित्तीय विवरण तयार गर्दा आयोगले स्रोत परिचालनतर्फ विद्यमान कोभिड-१९ को संक्रमणको विषम अवस्था तथा आवश्यकताको आधारमा नेपाल सरकारको वित्तीय आकारलाई समेत मध्यनजर गरी स्रोत अनुमान तथा आँकलन गरेको बताएको छ । आर्थिक वर्ष २०७६/७७ र चालु आर्थिक वर्षमा राजस्वको परिचालनमा कठिनाइ आए तापनि आगामी तीन आर्थिक वर्षमा १७ प्रतिशत वृद्धिदरको प्रक्षेपण/आँकलन गरिएको छ । वैदेशिक सहायतालाई सो अनुसार परिपूरक स्रोतको रुपमा परिचालन हुने आँकलन गरिएको छ भने आन्तरिक ऋण वाञ्छित सीमाभित्र रहने गरी उठाउने गरी अनुमान गरिएको छ ।  

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update