काठमाडौं, फागुन ५। वैदेशिक रोजगार बोर्ड नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आवद्ध भएको छ ।
बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई एनपीआईमा जोडिई भुक्तानीहरु पूर्ण स्वचालित रुपमा गर्न दुई पक्ष बीच सम्झौता गरेको हो । सम्झौतापत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौतापछि बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडी सोझै लाभग्राहीहरूको बैंक खातामा भुक्तानी गर्न सक्नेछ। यसले वैदेशिक रोजगारीमा अपाङ्गता अथवा मृत्यु भएका कामदारहरूको क्षतिपुर्तीको भुक्तानी, भेन्डर भुक्तानी, लगायतसम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनेछ ।
सम्झौता अघि सम्पूर्ण भुक्तानी कारोबारहरू चेकमार्फत गरिने गरिन्थ्यो । यसले बोर्डको सेवा प्रवाहमा उल्लेख्य सुधार आउनुका साथै पीडित परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बोर्डले जानकारी दिएको छ ।
बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारहरुले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकमको संकलन कनेक्ट आईपीएसमार्फत पनि गर्दै आएको छ ।