जापान, फागुन ८। जापानका ३८ वर्षीय एक युवक सोजी मोरीमोतो गजबको जागिर गर्नुहुन्छ । उहाँको जागिरको नाम नै ‘केही गर्न नपर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई जागिर दिनेहरूले उहाँलाई खाने, मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि मात्र गराउन सक्छन् ।
उहाँले भन्नुभएको छ, “म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो गफगाफको जवाफसम्म दिने गर्छु । अनि बसीबसी खान्छु ।” यस्तो जागिर उहाँलाई मन पर्छ । तर, यस्तो सजिलो जागिरमा पनि उहाँ अझै त्यसै बसेर आनन्द लिन खोज्छन् । उहाँको यस्तै बानीले गर्दा उहाँ यस्तो जागिरका लागि बढी उपयुक्त ठहर पनि हुनुभएको छ। उहाँ भन्नुहुन्छ “म केही काम नगर्ने भनेर नै जागिर खान्छु । म कुराकानीसमेत आफैँ सुरु गर्दिन । कसैले केही सोधेमा संक्षिप्त जवाफ दिन्छु ।”
मानिसहरूले उहाँलाई नरमाइलो लागेको बेला सँगै बसिदिएको, खाना खाइदिएको र हत्या स्वीकारेको जस्ता गफ चुपचाप सुनिदिएको जस्ता गतिविधिका लागि मासिक तलब दिने गर्छन् । मोरीमोतोले सन् २०१८ देखि यस्तो अस्वाभाविक काम गर्न थाल्नुभएको हो । त्यतिबेला बेरोजगारको अवस्थामा उहाँले ‘डू नथिङ रेन्ट-अ-म्यान’ नाम ट्विटर एकाउन्ट खोल्नुभएको थियो । अहिले उहाँको २ लाख भन्दा बढी फलोअर्स छन् ।
मोरिमोतोले भन्नुभएको छ “यस्ता कामदार माग्ने मेरा ग्राहकहरू विभिन्न परिस्थितिका विविध व्यक्तित्वहरू देखेर आश्चर्य लाग्छ। केही मानिस धेरै एक्लो र न्यास्रो महशुस गर्दछन् । कोही कतै एक्लै जान लजाउँछन्, कसैका साथ खोज्छन् ।” उहाँले दिनको तीनजनासम्म ग्राहकका यस्ता सजिलो काम गर्ने गरेको र अहिलेसम्म तीन हजार अर्डर पूरा गरिसक्नुभएको छ ।
“मैले चुपचाप कफी पिइदिने, कसैको कुरा सुनिदिने बर्थ डेमा केक सेयर गरिदिने, सँगै सपिङ र रेस्टुरेन्टमा गइदिने जस्ता पनि काम गरिसकेको छु । तर, मैले घर सफा गर्ने, लुगा धोइदिने, नाँगो बसेर पोज दिने तथा कसैका साथी बनिदिने जस्ता अनुरोध भने स्वीकारेको छैन ।”
जापानले अहिले आफ्ना नागरिकका न्यास्रोपना र सामाजिक एक्लोपना कसरी व्यवस्थित गर्ने भन्नेबारे चुनौती सामना गरिरहेको छ । सन् २०२० मा एघार वर्षयता पहिलोपटक पुन: आत्महत्याको दर बढ्न थालेपछि यस समस्याका समाधानका लागि ‘एक्लोपना मन्त्री’ समेत नियुक्त गरेको थियो ।
(साभार: बिजनेस इन्साइडर)