काठमाडौं, फागुन ९ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगैै बैंकमा तरलता अभावका कारण घरजग्गाको कारोबारमा सुस्तता आएको छ । विशेषगरि शहरी क्षेत्रका जग्गामा शिथिलता आएको देखिएको छ।
मंसिरदेखि सुस्ताउन थालेको घरजग्गाको कारोबार माघमा आइपुग्दा ३७ प्रतिशतले गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्षको माघमा २ लाख ११ हजार कित्ता जग्गा किनबेच भएका थिए । तर, यो वर्षको यही अवधिमा कारोबारमा ३७ प्रतिशतले गिरावट आएर १ लाख ३२ हजार कित्तामा सीमित भएको छ ।
घरजग्गाको कारोबारमा सुस्तता आउन थालेको मंसिरबाटै हो । पुसमा २६ प्रतिशतले घटेको कारोबार माघमा आउँदा झनै ठूलो मात्रामा गिरावट आएको छ । जबकी कात्तिकमा २८ प्रतिशतले बढेको थियो । तर मङ्सिरमा जम्मा १ प्रतिशतले मात्रै बढ्यो । त्यसपछि ओमिक्रोन भाइरस र बैंकको तरलताका कारण कारोबार सुस्ताएको हो ।
विशेषगरी शहरी क्षेत्रमा जग्गाको कारोबारमा कमी आएको हो। शहर नजिक बाहेकका ग्रामीण भेगमा अंशबन्डा बाहेक घरजग्गाको खासै कारोबार हुने गरेको छैन । शहरी क्षेत्र नजिकका ग्रामीण भेगमा पनि अहिले जग्गाको कारोबारमा कमी आएको छ ।
घरजग्गामा आएको सुस्तताको असर राजस्वमा समेत परेको छ । पुसमा ६ अर्ब ७१ करोड राजस्व संकलन भएकोमा माघमा ५ अर्ब ५० करोडमा खुम्चिएको छ । सरकारले गत वर्ष ९ लाख घरजग्गा किनबेच हुँदा ४७ अर्ब राजस्व प्राप्त गरेको थियो ।