काठमाडौं, फागुन ९। प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) प्रतिवद्धता बढेको छ। गत आर्थिक वर्ष २०७७/७८ को सात महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) मा ३० प्रतिशत अर्थात् सात अर्ब ३० करोड सात लाख रुपैयाँले बढेको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ३१ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ र गत आर्थिक वर्षको उक्त अवधिमा २४ अर्ब २३ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । कृषि तथा वन पैदावारमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता हुन्छन् । सोही अनुरूप चालु आर्थिक वर्षको समीक्षा अवधिमा आठ हजार चार सय ४५ जनालाई रोजगारी सहित एक सय ३६ वटा उद्योग दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा सबैभन्दा बढी सेवा र सबैभन्दा कम उर्जा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । सेवामा १६ अर्ब ६९ करोड ५० लाख रुपैयाँ र उर्जामा १० करोड ६२ लाख रुपैयाँ प्रतिवद्धता आएको छ । यस्तै अन्य उद्योगहरूमा पर्यटनमा १० अर्ब २१ करोड ४० लाख रुपैयाँ, उत्पादनमूलकमा तीन अर्ब ४७ करोड ४० लाख रुपैयाँ, कृषि तथा वनजन्यमा ६० करोड रुपैयाँ, सूचना प्रविधिमा ४५ करोड रुपैयाँ र ऊर्जामा १० करोड ६२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । समीक्षा अवधिमा दर्ता भएका उद्योगहरूको तुलना गर्दा घटबढ भएको देखिन्छ ।
यसैबीच गत आर्थिक वर्षको समीक्षा अवधिमा उत्साहजनक लगानी आउने वातावरण नभए पनि निरन्तर लगानी भने आएको देखिन्छ। गत आर्थिक वर्षको समीक्षा अवधिमा तीन हजार सात सय ८८ जनालाई रोजगारी सहित एक सय २३ वटा उद्योग विभागमा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटनमा र सबैभन्दा कम सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा लगानी प्रतिवद्धता आएको थियो ।
समीक्षा अवधिमा पर्यटनमा १५ अर्ब १८ करोड ८५ लाख रुपैयाँ, सेवामा पाँच अर्ब २१ करोड रुपैयाँ, उत्पादनमा दुई अर्ब ५९ करोड रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारणमा ४५ करोड रुपैयाँ र कृषि तथा वनजन्यमा पनि ४० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षमा उर्जामा भने लगानी आउन सकेन ।
समीक्षा अवधिमा सबैभन्दा बढी चीन, स्पेन, सिंगापुर, भारत, अमेरिका, अष्ट्रेलिया, ताइवान लगायत १५ मुलुकबाट लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । चीनबाट २३ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ, स्पेनबाट चार अर्ब ८५ करोड रुपैयाँ, सिंगापुरबाट एक अर्ब रुपैयाँ, भारतबाट ६२ करोड ७५ लाख रुपैयाँ, अमेरिकाबाट ३५ करोड रुपैयाँ, अष्ट्रेलियाबाट ३० करोड रुपैयाँ, ताइवानबाट १२ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । चीनले एक सय १३ वटा, भारतले पाँच वटा र स्पेन, सिंगापुर, अमेरिका, अष्ट्रेलियाले एउटा उद्योग खोल्नका लागि उक्त लगानी प्रतिवद्धता जनाउनु भएको छ । अवस्था सामान्य बन्दै गएको कारण लगानी बढ्दै गएको विभागका अधिकारीहरू बताउनु हुन्छ ।